गण्डकीमा मन्त्रालयको छिनोफानो, माओवादीले बुझायो मन्त्रीको नाम

पोखरा । गण्डकी प्रदेशको रोकिएको मन्त्रिपरिषद् विस्तार करिब अन्तिम चरणमा पुगेको छ । लामो छलफल र वार्तापछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले लिने मन्त्रालयको नाम टुंगो लागेको छ ।

कांग्रेसलाई मुख्यमन्त्रीसहित ५ वटा मन्त्रालय र माओवादीले ४ वटा मन्त्रालय पाएको छ । भौतिक पुर्वाधार विकास मन्त्रालय, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय कांग्रेसले लिएको हो । माओवादीलाई अर्थसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय र वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय दिईएको छ ।

यसअघि दुईवटा मन्त्रालय दिने भनिएको जनता समाजवादीलाई एउटा मात्रै मन्त्रालय दिन लागिएको छ । जसपाका हरिशरण आचार्य उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रीको कार्यभार सम्हालिरहेका छन् ।

यसैबीच, माओवादीले पाएको मन्त्रालयमा मन्त्रीको टुंगो पनि लागेको छ । अर्थमा दलका उपनेता रामजी बराल, कृषिमा चन्द्र बुढा र वनमा दीपक चर्तीको नाम मुख्यमन्त्रीलाई बुझाईएको हो । स्वास्थ्यमन्त्रीमा यसअघि नै मधुमाया अधिकारीलाई जिम्मेवारी दिईएको छ ।

कांग्रेसको नाम अझै मिलेको छैन । बागलुङका मणिभद्र शर्मा, स्याङजाका मेखलाल श्रेष्ठ र तनहुँका दोवाटे विश्वकर्माको नाम चर्चामा छ । यद्यपि स्याङजाकै भागवत प्रकाश मल्ल र कास्कीका विन्दु थापा पनि रेसमा छन् । महिलाबाट मन्त्री बनाउनुपर्ने आवाज समेत उठेको छ । शुक्रबार १ बजे मन्त्रीहरुको सपथ हुने र त्यतिबेलासम्म कांग्रेसको टुंगो लाग्ने बताईएको छ ।

कांग्रेसबाट कुमार खड्का यसअघि नै सामाजिक विकास मन्त्री बनेका छन् । नयाँ समीकरण बनेपछि उनी भौतिक मन्त्री लिने बताईएको छ । गण्डकीको युवा तथा खेलकुदमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनिसकेका छन् ।

  • तस्बिर : क्रमशः चन्द्र बुढा, रामजी बराल र दीपक चर्ती
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *