गण्डकीमा मन्त्रिपरिषद् विस्तार आज, को-को बन्दैछन् मन्त्री ?

पोखरा । गत असार २९ गते सरकार बनेपछि रोकिएको मन्त्रिपरिषद् विस्तार आज हुने भएको छ । सत्ता साझेदार दल कांग्रेस र माओवादीबीच आज साँझसम्म सरकारलाई पूर्णता दिने सहमति भएको हो ।

बुधबार नै भागबण्डा मिलाउने भनिएपनि दुवै पक्षको अडानले बिहीबारका लागि सरेको हो । ११ वटा मन्त्रालय रहेको गण्डकीमा ६ जना मन्त्री नियुक्त गर्न बाँकी छ । बाँकी मन्त्रीहरु माओवादी र कांग्रेसबाट नियुक्त गर्न लागिएको हो । तर मन्त्रालय भने अझै छिनोफानो भएको छैन । आजै साँझसम्म मन्त्रालयको जिम्मेवारी सहित मन्त्रीमण्डल विस्तार हुने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । ‘धेरै लामो भैसक्यो । अब विस्तार गर्नुपर्छ,’ उनले भने, आज साँझसम्म मन्त्री मण्डल बन्छ । माओवादीले नाम दिन्छु भनेको छ ।’

यसैका लागि मुख्यमन्त्रीको टोली कांग्रेस सभापति तथा प्रधामन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएका छन् । बजेट पास भएपछि मन्त्रिमण्डल विस्तार गर्ने यसअघिकै प्रतिवद्धता अनुसार बजेट मार्सल लगाएर पास गरिएको छ । एक महिनासम्म पनि सरकारलाई पूर्णता दिन नसक्दा आलोचना बढ्न थालेको छ ।

नयाँ मन्त्रीहरुको नाम पनि बिहीबार दिउँसोसम्म टुंग्याउने दलहरुले बताएका छन् । अब तीनवटा मन्त्रालय पाउने माओवादीले दलका उपनेता रामजी बरालको नेतृत्वमा सरकारमा सहभागी हुने छ । बागलुङका चन्द्रबहादुर बुढा र स्याङजाका दीपक चर्ति मगर मन्त्री बन्ने पक्का जस्तै छ । माओवादीबाट यसअघि नै मधुमाया अधिकारी मन्त्री बनिसकेकी छिन् । उनको समेत कार्य जिम्मेवारी हेरफेर हुन सक्ने बताईएको छ । यद्यपि दीपक कोइराला, आशा कोइराला लगायत सांसदहरुको पनि नाम चर्चामा छ ।

पुर्व सहमति अनुसार कांग्रेसले दुईवटा मात्रै मन्त्री पाउँछ । अहिले जसपालाई छोडेर गए तीनवटा मन्त्रालय अझै कांग्रेसको भागमा छ । स्याङजाबाट मेखलाल श्रेष्ठ, तनहुँका डोबाटे विश्वकर्मा र बागलुङका मणिभद्र शर्मा मन्त्री बन्ने अधिक सम्भावना छ । कास्कीका विन्दुकुमार थापा र स्याङजाकै भागवत प्रकाश मल्लको नाम पनि चर्चामा छ । महिला सांसदहरुले कम्तिमा एकजना महिला मन्त्री हुनुपर्ने माग राखेका छन् । गोरखाकी मनकुमारी गुरुङ र पर्वतकी ललितकला गुरुङ मन्त्री बन्नका लागि दौडधुप गरिरहेका छन् । पुर्व सहमति कार्यान्वयन भए जसपाकी धनमाया लामा पोखरेल मन्त्री बन्ने पक्का छ ।

प्रदेशमा सबैभन्दा महत्वपूर्ण मानिएको भौतिक पूर्वाधार विकास मन्त्रालयमा कुरा नमिल्दा मन्त्रीमण्डल विस्तारमा विलम्ब भएको हो । माओवादीले भौतिक पूर्वाधार विकास मन्त्रालय खोजेको छ । कांग्रेसले पनि भौतिकमा दावी गरेको छ । ‘दोश्रो दलको हैसियतले भौतिकमा माओवादीको दावी स्वभाविक हो । पहिलो दल कांग्रेसले मुख्यमन्त्री पाएको छ नि,’ माओवादी संसदीय दलका उपनेता रामजी बरालले भने, ‘त्यसपछि अरु पावर शेयरिङ दलको हैसियत अनुसार हुन्छ ।’ कांग्रेसले भने मुख्यमन्त्री छोडेर दलको हैसियत अनुसार मन्त्रालय भाग लगाउनुपर्ने बताएको छ ।

यसअघि दुई मन्त्रालय दिने भनिएको जनता समाजवादी पार्टीलाई अब एउटा मात्रै मन्त्रालयमा सीमित गरिने भएको छ । यसअघि नै अर्थ मन्त्रालय दिने सहमति गरिएको जसपाले दुईवटा मन्त्री ज्ञारेण्टी गरेपछि उर्जा मन्त्रालय सम्हालेको छ । जसपा सांसद धनमाया लामा पोखरेल सुरु देखि नै आफुले मन्त्री पाउनुपर्ने अडानमा छिन् । यसअघिको सहमति अनुसार कांग्रेस र माओवादी ४÷४, जसपा २ र स्वतन्त्र सांसद दीपक मनाङेलाई एउटा मन्त्रालय तोकिएको थियो । जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री बनिसकेका छन् । आचार्यलाई भौतिक मन्त्रालयबाट फुटाईएको उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री दिईएको छ, मनाङे युवा तथा खेलकुद मन्त्रीमा तेश्रो पटक पदभार सम्हालेका छन् ।

जेठ २९ गते विना विभागीय मन्त्रीको सपथ लिएका कांग्रेसका कुमार खड्का सामाजिक विकास मन्त्री बनेका छन् भने माओवादीकी मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् । मन्त्री मण्डल विस्तार गर्दा सामाजिक विकास मन्त्री खड्काको जिम्मेवारी फेरिने छ । उनी भौतिक पूर्वाधार विकास मन्त्री बन्ने बुझिएको छ । प्रदेश तहमासांसद संख्याको २० प्रतिशत मन्त्री बनाउन पाईने व्यवस्था छ । ६० सांसद रहेको यहाँ १२ जना मन्त्री बन्न पाउँछन् । यसअघिको सरकारले ७ बाट फुटाएर ११ मन्त्रालय बनाएको छ । नयाँ सरकारले त्यसलाई पनि फुटाएर १२ वटा पु¥याउने संकेत गरेको छ । तर यसबारे आधिकारिक धारणा भने मुख्यमन्त्रीले सार्वजनिक गरेका छैनन् । कांग्रेसलाई दुईवटा विकल्प छः एउटा मन्त्रालय फुटाउने, अर्को जसपा सँगको सम्झौता तोड्ने । मन्त्रालयगत विभाजन नमिलेपछि बुधबार बसेको दुई दलबीचको बैठक बिना निष्कर्ष उठेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *