गठबन्धनलाई माओवादीले भन्यो- न्यूनतम साझा कार्यक्रम चाँडै बनाऔं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले न्यूनतम साझा कार्यक्रम चाँडै बनाउन सत्तारुढ गठबन्धनलाई आह्वान गरेको छ । केन्द्रको बुधबार (आज) बसेको स्थायी कमिटीको बैठकले ५ दलसम्बद्ध सत्तारुढ गठबन्धनलाई चाँडै कार्यक्रम घोषणा गर्न आह्वान गरेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने— ‘पहिले हामी जुन प्रवृत्तिका विरुद्ध संघर्ष गरिरहेका थियौँ । अबको गठबन्धनको सरकारमा त्यो फेरि नदेखियोस् भन्नेमा जोड दिँदै आजको बैठकले सरकारलाई न्यूनतम साझा कार्यक्रम (प्रतिबद्धता) चाँडै ल्याऔं भनेर प्रस्ताव तथा आह्वान गरेको छ ।’

न्यूनतम साझा कार्यक्रममा संविधान, कानून, लोकतन्त्र र सिङ्गो व्यवस्थालाई केन्द्र राख्ने विषयलाई प्राथमिकता दिइने प्रवक्ता श्रेष्ठको भनाइ छ । ‘सरकारका नीति–कार्यक्रम, व्यवहार, आचारणका विरुद्धमा हामी संघर्षरत थियौँ । अबको सरकारमा त्यो कुनै पनि आचरण नदोहोरियोस् भन्नको खातिर हामीले साझा प्रतिबद्धता चाँडै आउनुपर्छ भनेर भनेका हौँ । जसले सरकारलाई दिशानिर्देश पनि गर्नेछ । सरकार आफैंलाई पनि सहयोग पुग्छ,’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।

यस्तै बैठकले साउन २० गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । उक्त बैठकको तयारीस्वरूप १७ गते स्थायी कमिटीको बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले बताए ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा भने छलफल नभएको प्रवक्ता श्रेष्ठले दाबी गरे, भने— ‘यो विषयमा हामीले मात्रै छलफल गरेर केही हुँदैन । गठबन्धनमै छलफल गर्नुपर्छ । आजको बैठकमा यसबारेमा केही छलफल भएन । त्यो विषयमा हामी सदा तत्पर छौँ । पार्टीले यो बारेमा सोचिरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *