पुष्प मेहनती कलाकार र असल मानव हुन् : निर्देशक नेपाल

काठमाडौँ । कलाकार पुष्प खड्का आजबाट ३३ वर्ष पूरा भएका छन् । कैलालीमा जन्मिएका खड्का म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेका हुन् ।

उनले चलचित्र ‘मङ्गलम’मार्फत राष्ट्रिय अवार्डसमेत प्राप्त गरेका छन् । त्यस्तै उनको अर्को चलचित्र मारुनीले समेत दर्शकको मन जितेको छ । यी दुवै चलचित्रका निर्देशक नवल नेपालसँग जन्मदिनको अवसरमा हामीले पुष्पको विषयमा केही कुराकानी गरेका छौं ।

तपाईंको चलचित्रमा पुष्प दोहोरिनुको कारण के होला ?
चलचित्रमा कलाकारको छनौट चरित्र हेरेर गरिने हो । पुष्प मेरो प्रिय कलाकार भएकोले राखेको भन्ने होइन । निर्देशकलाई कुनै पनि कलाकार प्रिय हुने र नहुने भन्ने हुँदैन । सबै बराबर हुन्छन् । चरित्रले माग्यो दुई चलचित्रमा काम गर्ने अवसर पाइयो । आगामी चलचित्रमा कस्तो चरित्र आवश्यक पर्छ त्यसैले पुष्प हुने या नहुने निर्धारण गर्छ । पुष्पको र मेरो भावना मिलेको कारण व्यावसायिकसँगै भावनात्मक निकटता भने छ ।

तपाईंको नजरमा पुष्प कस्ता कलाकार हुन् ?
पुष्पमा कलाकारिताको ज्ञान छ । कलाकारितामा मरिमेटेर लाग्ने मान्छे पनि हुन् उनी । चरित्र निभाउन उनी जुन सुकै हदसम्म पनि जान तयार हुन्छन् । आफूले पाएको चरित्रको गहन अध्ययन गरेर लवज, बोलीचाली, हाउभाउ, हिँडडुलसमेत विस्तृत रूपमा बुझेर अगाडि बढ्छन् । चरित्रको डेप्थ बुझेर कामको थालनी गर्छन् । बाकी कमी कमजोरीलाई बुझेर सुधार्दै लैजाने हो । उनी समग्रमा मेहनती कलाकार हुन् ।

यहाँको बुझाइमा कलाकारिता बाहिर पुष्प कस्ता छन् ?
कलाकारिताभन्दा बाहिर पनि पुष्प एक असल मानव हुन् । उनलाई मानवीय समवेदनाले प्रभाव पार्छ । अरूको दुख देख्न सक्दैनन् । आँखा रसाउँछ, मन कुँडिन्छ । बोली बचन र सङ्गत राम्रो छ । सबैसँग नम्र भएर बोलेको कारण उनी सबैका प्रिय छन् । दम्भ, अहङ्कार अलिकति पनि छैन । मानिसले प्रतिष्ठा भेटेपछि शिखरमा पुग्छ । त्यसपछि सङ्घर्षको समयका दुख सङ्घर्ष बिर्सिने स्वभाव हुन्छ । त्यो स्वभाव पुष्पमा छैन ।

सुधार्नुपर्ने विषय के होला ?
उनले धेरै चलचित्र गरिसकेका छन् । त्यसैले फेन्टासी क्यारेक्टर भन्दा पनि क्यारेक्टर आर्टिस्ट बन्ने प्रयास गर्नुपर्छ । समाजभित्रको रियल चरित्र बोल्ने अभिनय तर्फ समेत ध्यान दिनुपर्छ । समाजलाई प्रतिनिधित्व गर्ने प्रकारको चरित्रमा ध्यान दिएमा राम्रो छ । पुष्प हैन, पात्र बोलेर समाजको प्रतिनिधित्व गर्न सकोस् । चलचित्र भनेको व्यवसाय पनि हो । व्यावसायिक चलचित्रले फेन्टासीलाई जोड दिन्छ । तथापि विभिन्न क्यारेक्टरमा ध्यान दिन सके राम्रो हुन्छ । उनको भूमिका बिस्तारै परिवर्तन पनि हुँदै गएको छ । मैले सुने अनुसार चलचित्र ‘कृष्ण लीला’मा उनले निभाएको चरित्र भिन्न छ । चरित्र चाहे वृद्ध होस् चाहे युवा होस्, उनलाई सुहाउने चरित्रतर्फ ध्यान दिनुपर्छ ।

जन्मदिनको शुभकामना कसरी दिनु हुन्छ ?
चलेको चलन अनुरूप नै मैले सामाजिक सञ्जालमार्फत पुष्पलाई शुभकामना दिएको छु । आज मेरो पुष्पसँग भेट पनि हुँदैछ । आउने दिनहरूमा अगाडिको समयमा दुख गरेर कमाएको प्रतिष्ठाले निरन्तरता पाओस् । कुनै पनि अलग बाटो समात्नु नपरोस् । सपना छिटै पूरा हुन् भन्ने मेरो अपेक्षा छ । यति बेलाका सुखले तथा आउने दिनमा पाउन सक्ने सुखले पहिला भोगेका दुख र सङ्घर्षलाई बिर्सिनु हुँदैन । यी दुख र सङ्घर्ष बिर्सिनाले मानिस कमजोर हुन्छ । र, पाएको साथ, प्रतिष्ठा गुम्दै जान्छ । यो विषयमा पुष्पले ख्याल राख्नु पर्छ ।

  • जन्मोत्वको शुभकामना पुष्प
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *