पोखरामा विदेशी पर्यटकः न घुम्न पाए, न फर्किन भ्याए

गण्डकी । पोखरामा कति विदेशी पर्यटक छन् भन्ने तथ्यांक कसैसँग छैन । पर्यटन सम्बद्ध संघ संस्थाहरुले ४ सय हाराहारी पर्यटक अड्किएको अनुमान गरेको छ । अघिल्लो वर्ष आएका पर्यटकहरु लकडाउनका कारण यतै अलमलिए । लकडाउन अवधीमा भिसा थप्ने सम्भावना भएन, न त कतै घुम्न जाने अवस्था बन्यो । सबैतिर ठप्प भएपछि पर्यटक पनि बसिरहेको होटलमा थुनिए । अहिले लकडाउन खुल्यो । सरकारले भिसा थप्न र तोकिएको भन्दा बढी अवधी बसेको भए विलम्ब शुल्क सहित जरिवाना तिर्न उर्दी जारी ग¥यो ।

केहि समयअघि एउटा सूचना निकालेर सरकारले लकडाउन अवधीको भिसा निःशुल्क रुपमा रिन्यु गर्ने बताएको छ । त्यसबाहेक नेपालमा बस्न चाहने पर्यटकले आवेदन तत्कालै दिनुपर्ने र साउन १ गतेपछि बाहिरिन चाहनेलाई भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना लाग्ने जानकारी गराएको हो । पर्यटक भिसाअनुसार एक जना पर्यटक वर्षमा एक सय ५० दिनमात्रै नेपाल बस्न पाउँछ । त्यसलाई संशोधन गरेर सरकारले भिसा अवधी २ सय १० दिन पु¥यायो । अवधी थपेपनि पर्यटकहरु यो नियमले तत्कालै नेपाल छोड्नुपर्ने भएको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरुलाई स्वदेश फर्कन गाह्रो छ ।

नेपालको नियम र कोभिड-१९ संक्रमणको दोहोरो चेपुवामा फसेका छन्, पर्यटकहरु । सहज अवस्था नबन्दासम्म बिना जरिवाना नेपालमै बस्ने व्यवस्था मिलाईदिन पोखरामा अड्किएकी इटालीकी पर्यटक मार्ताले बताईन् । उनी २०२० को फेब्रुअरीमा नेपाल आएकी हुन् । ‘स्वदेश फर्किन सक्ने अवस्था छैन । यता बस्दा जरिवाना लिने भनेको,’ उनले भनिन्, ‘यस्तो नियमले हामीलाई समस्या प¥यो ।’ उनी जस्तै सयौं पर्यटक अहिले अलपत्र जस्तै भएका छन् । पत्रकारहरुसँग भेटेर पर्यटकहरुले पर्यटकमैत्री व्यवहार देखाउन सरकारसँग अनुरोध गरे ।

सरकारी नियमअनुसार शुल्क लिन थालेपछि पर्यटकहरु नेपाल सरकारसँग आक्रोशित बनेका छन् । अहिले इटाली, अमेरिका, स्वीडेन लगायत देशका पर्यटकहरु यता छन् । लकडाउनका कारण रोकिएका पर्यटकलाई सरकारले सहजीकरण गर्नुपर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई बताउँछन् । पर्यटकलाई दुख परेको कुरा आफुहरुलाई थाहा नभएको उनले बताए । ‘यस्तो कुरा हामीलाई भनेका छैनन् । कुनै उजुरी आयो भने सहजीकरण गर्छौं,’ उनले भने, ‘सरकारले पर्यटकलाई सहज बनाउने बाटो मिलाउनुपर्छ । नत्र नकारात्मक सन्देश जान सक्छ ।’

अप्रिल महिनाको २९ तारिखदेखि जुलाई १९ सम्म ७ सय ७ जना पर्यटकले भिसा थप गरेका छन् । पर्यटक र अन्य ९ सय ६५ जनाको भिसा थप गरेको अध्यागमन कार्यालय पोखराले जनाएको छ । पर्यटकसँगै भिजिट भिसा र विवाहपछि जारी गरिने भिसा पनि उत्तिकै रहेका अध्यागमन पोखराकी कार्यालय प्रमुख प्रमिला गौतमले बताईन् ।

उनका अनुसार भिसा थपे बापत १ करोड २ लाख भन्दा बढी राजश्व संकलन भएको छ । ‘अधिकांशको भिसा हेर्दा जुलाई २९ सम्म मात्रै बस्न पाउने देखिन्छ । पर्यटकहरुले यो अवधी सच्याउन आग्रह गरेका छन् । उनीहरुको समस्या माथी पठाएका छौं,’ उनले भनिन्, ‘हामीलाई कुनै निर्देशन आएको छैन । धेरैले २९ जुलाईसम्म जान सक्दिनँ भन्नुभएको छ ।’

सरकारले नेपालबाट बाहिरिने विदेशी पर्यटकलाई भिसा, विलम्ब र जरिवाना सहितको शुल्क लाग्ने सूचना जारी गरेपछि पोखरामा अड्किएका पर्यटकहरुले त्यसलाई सच्याउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *