ओली ब्रिफिङ्ग

जनयुद्धको नाममा युवालाई बेघरबार कसले बनायो ?

एमाले देशद्रोही पार्टी होइन

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको नाममा युवाहरुलाई बेघरबार बनाएको आरोप लगाएका छन् । सोमबार (आज) तुल्सीलाल प्रतिष्ठान, च्यासलमा बसेको १०औं केन्द्रीय कमिटी बैठकमा ब्रिफिङ्ग गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् । प्रचण्डलाई ‘एकजना’ को संज्ञा दिँदै ओलीले भने— ‘जनयुद्धका नाममा युवाहरुलाई बेघरबार बनाए । अङ्गभङ्ग बनाए, बिचल्ली बनाए ।’

यसअघि आइतबार (हिजो) प्रधानमन्त्री शेरबहादुर देउवाले ‘विश्वासको मत लिन्छु’ भनि प्रतिनिधि सभा बैठकमा राखेको प्रस्तावबारेको छलफलमा भाग लिँदै एमाले नेता प्रदीपकुमार ज्ञवालीले घुमाउरो पारामा ‘माओवादी युद्ध हारेपछि लोकतन्त्रको कुरा गर्दै मूलधारमा आएको’ भन्ने भाषण गरेका थिए । त्यसको जवाफमा प्रचण्डले ‘माओवादीको टाउको काट्नेमा तपाईं हुनुहुन्नथ्यो र ?’ भन्ने प्रश्न तेर्स्याउँदै भनेका थिए— ‘के शान्ति सम्झौता गलत थियो ? माओवादीले युद्ध हारेर आएको पार्टी होइन । माओवादीले लोकतन्त्रको पक्ष लिनुहुन्न भन्न खोज्नुभएको हो ? तपाईं युद्ध हारेर आएर अहिले लोकतन्त्रवादी हुन खोजेको भन्ने ?’

यही दृश्यलाई लक्षित गर्दै ओलीले बैठकमा भने— ‘आफूलाई सम्मान चाहिएको छ । तर, आफूले जवाफदेहीता भने पूरा गर्न नसक्ने । हिजो युद्धबाट असर परेका समस्यामा परेकाहरुको वास्ता नै छैन । कुनै चिन्ता छैन ।’

गत असार २८ गते सर्वोच्च अदालतले जारी गरेको परमादेशका कारण बालुवाटारबाट बाहिरिएका ओली र प्रचण्डबीच खासगरी ८/९ महिनायता तिक्तताको सम्बन्ध छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहका कारण आपसमा बाझिएका ओली–प्रचण्डबीचको राजनीतिक तिक्तता झनै चुलिँदो छ । गत वर्षको फागुन २३ गते सर्वोच्च अदालतले नै नेकपालाई पूर्ववत् अवस्थामा फर्काएपछि ओली–प्रचण्डबीच आरोप प्रत्यारोपसँगै घोचपेचमै बितेको छ ।

यस्तै ओलीले एमालेलाई देशद्रोहीको संज्ञा दिइएको भन्दै त्यसको प्रतिवाद गरे । भने— ‘एमालेजस्तो देशभक्ति पार्टीलाई देशद्रोही भनियो । राष्ट्रियताका निम्ति बलिदान गरेको आएको पार्टीलाई देशद्रोही भन्नु गलत हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *