एमालेको १०औं केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौं । एमालेको १०औं केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बैठक ललितपुरस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा शुरु भएको हो । बैठकमा पार्टीको विधान अधिवेशन, पार्टीको ह्वीप उलङ्घन गर्ने नेतामाथिको कारबाहीलगायतका विषयमा छलफल हुने एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष—झलनाथ खनालपक्षीय एमाले भने सहभागी छैन । प्रतिनिधि सभाको आइतबार (हिजो) को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मतदान गर्न दिएको निर्देशनविपरीत नेता नेपालसँगै केही सांसदले मतदान गरेका थिए भने केही सांसद मतदानमै सहभागी भएका थिएनन् । यस्तै हिजोसम्म ओली पक्षमै रहेका केही सांसदले पनि देउवालाई मत दिएका छन् ।

पार्टीको निर्देशनविपरीत देउवालाई मत दिनेहरुको विषयमा आज छलफल तथा निर्णय हुने एक नेताले मकालुखबरलाई बताए । ‘यो समीक्षा बैठकजस्तै हो । तर, केही निर्णयहरु हुन्छन्,’ ती नेताले भनेका छन्— ‘खासगरी पार्टीको निर्देशनविपरीत चल्ने कमरेडहरुको बारेमा केही छलफलसँगै निर्णय हुन्छ ।’

नेपाल पक्षले सर्वोच्चको फैसलाअनुुुरूप आफूहरुलाई ह्वीप नलाग्ने बताउँदै आएका छन् । गत असार २८ गतेको सर्वोच्चको फैसालमा उक्त कुरा उल्लेखसमेत छ । देउवालाई एमालेका २२ जना सांसदले विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *