गण्डकीका हिमाली क्षेत्रमा इटालीका स्याउ

बिरुवा रोपेकै वर्ष लाग्छ फल

पोखरा । गण्डकीका तीन जिल्ला स्याउ उत्पादनका हिसाबले अब्बल छ । मुस्ताङ, मनाङ र उत्तरी गोरखा स्याउ पकेट क्षेत्र हो । यहाँका अधिकांश नागरिकको रोजीरोटी स्याउ बेचेर चल्छ । प्रमुख उत्पादन पनि स्याउ नै हो ।

त्यसो त मुस्ताङ स्याउ उत्पादनका हिसाबले नेपालमै उत्कृष्ट जिल्ला हो । जिल्लाका १ हजार २ सय हेक्टरमा स्याउ खेती गरिएको छ । किसानहरुले वार्षिक ६ हजार मेट्रिक टन स्याउ बेचेर ६० करोडभन्दा बढी भित्र्याउँछन् । मनाङमा दक्षिण एसियाकै सबैभन्दा ठूलो स्याउ फार्म छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका पाल्देन छोपानले व्यवसायिक स्याउ उत्पादन गरिरहेका छन् । उत्तरी गोरखाका पनि समूह सहकारी मार्फत स्याउ खेती भइरहेका छन् ।

मुस्ताङको स्याउ गाडीबाट ढुवानी गर्न सक्ने अवस्था छ । मनाङ र उत्तरी गोरखाबाट भने सिधै हेलिकोप्टरले ओसार्छ । स्वाद र ढुवानीका कारण यी क्षेत्रबाट हुने उत्पादनको बजार राम्रो छ । अहिलेसम्म रैथाने स्याउ लगाएका उपल्लो क्षेत्रका किसानहरुले विगत ४ वर्षदेखि उन्नत जातका बिरुवा भित्र्याउन थालेका छन् । इटालीबाट आफ्नै लागतमा बिरुवा ल्याएका उनीहरुलाई अहिले संघ र प्रदेश सरकारले अनुदानमा बिरुवा वितरण गरिरहेको छ । २ वर्षदेखि संघ सरकारले र अघिल्लो वर्षदेखि प्रदेश सरकारले अनुदानमा बिरुवा वितरण थालेको हो ।

अघिल्लो वर्ष ४२ हजारभन्दा बढी बिरुवा ल्याएर तीन जिल्लामा बाँडेको प्रदेश सरकारले यो वर्ष मुस्ताङका लागि मात्रै २६ हजार बिरुवा ल्याएको छ । धेरै उत्पादन गरेर किसानलाई लाभ पुर्‍याउने उद्देश्यले सरकारले उच्च घनत्वका बिरुवा वितरण गरेको हो । ‘यो वर्ष मुस्ताङलाई मात्रै फोकस गरेर बिरुवा बाँडिएको छ । अरु जिल्लामा कार्यक्रम गरिएन,’ कृषि मन्त्रालयका उपसचिव गृष्म न्यौपानेले भने, ‘धेरैतिर छर्नुभन्दा किसानको मागका आधारमा एकैतिर बढी लगानी गर्नु उपयुक्त देखियो ।’ यो वर्ष अरु जिल्लामा कार्यक्रम बनाउन सकिने उनको भनाइ छ ।

मुस्ताङका २८ समूह तथा फर्महरुलाई बिरुवा वितरण गरिएको त्यहाँका अधिकृत प्रकाश बस्ताकोटीले जानकारी दिए । ल्हो घेकरसम्मका किसानले बिरुवा लगेका छन् । जलवायू परिवर्तनका कारण माथिल्ला क्षेत्रहरुसम्म स्याउ उत्पादन हुन थालेको छ । यसअघि लोमान्थाङमा स्याउ फलेको रेकर्ड छैन । एक्याप लोमान्थाङका अनुसार अहिले किसानहरुले धमाधम स्याउको बिरुवा सार्न थालेका छन् । गाला, फुजी र डेलिसियस जातका स्याउ सरकारले ल्याएर वितरण गरेको हो ।

अघिल्लो वर्ष प्रदेश सरकारले १० हजार बिरुवा वितरण गरेको थियो । सबै क्षेत्रबाट हालसम्म ५० हजारभन्दा बढी उन्नत विरुवा मुस्ताङमा वितरण भइसकेको छ । यो वर्ष स्याउ जोन कार्यक्रमले पनि थप ७ हजार बिरुवा वितरण गरेको छ । इटालीबाट ल्याइएका बिरुवा सुरुमा धेरै लगानी हुने र छिटो उत्पादन दिने खालका हुन् । गण्डकी सरकारले अघिल्लो वर्ष मनाङमा २३ हजार र उत्तरी गोरखामा ६ हजार बिरुवा वितरण गरेको थियो । किसानहरुले भने यो बिरुवाको लागत खर्च बढी भएको बताए । प्रतिबिरुवा ९ सय ४९ रुपैयाँ लागत परेको छ । त्यसमा प्रदेश सरकारले ७५ प्रतिशत व्यहोरेको छ भने किसानले २५ प्रतिशतमात्रै तिर्छन् ।

यद्यपी छिटो उत्पादन हुने भएकाले घाटा पूर्ति गर्न सकिने विज्ञहरु बताउँछन् । अधिकृत बस्ताकोटीका अनुसार रोपेको ३ वर्ष पूरा भएको बिरुवाबाट १५ किलोसम्म उत्पादन हुन थालेको छ । यो बिरुवा १ रोपनीमा १ सय ५० वटासम्म रोप्न मिल्छ । उच्च घनत्वका बिरुवा उत्पादन गर्न मुस्ताङमा नर्सरी पनि स्थापना गरिएको छ । प्रदेशले ३ वटा जिल्लामा स्याउ विशेष कार्यक्रम चलाएको छ । सुरुमा किसानहरुले यो बिरुवामा खासै विश्वास गरेका थिएनन् । तर फल लाग्न थालेपछि आकर्षण बढेको छ । रोपेकै वर्षदेखि उत्पादन दिन थाल्ने भएकाले किसानले बढी रुचाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *