खुलेनन् पर्यटकीय क्षेत्र, व्यवसायीको भद्र आन्दोलन

पोखरा । सरकारले लकडाउनलाई केही खुकुलो बनाएको छ । बजारहरु आंशिक खुलेका छन् । यातायातका साधन चल्न थालिसके । रङ्गशालादेखि निर्माण क्षेत्र पनि खुल्न थालेको छ । तर पोखराको पर्यटन क्षेत्र भने अझै खुलेको छैन ।

व्यवसायीले खोपको माग गर्दै आफ्नो व्यवसाय नखोलेर भद्र आन्दोलनमा छन् । कोरोनाविरुद्धको खोप नपाउँदासम्म व्यवसायीले पर्यटन क्षेत्र नखोल्ने चेतावनी दिएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्याललगायत यसरोकारवाला निकायमा ज्ञापन पत्र बुझाएका छन् ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले यसपालि पनि सरकारले आफुहरुका कुरा नसुनेको गुनासो गरे । ‘पर्यटन क्षेत्र यो पटक पनि प्राथमिकतामा परेन । यातायात, बैंक, विद्यालय प्राथमिकतामा परेपनि अतिआवश्यक सेवा क्षेत्रमा पर्ने होटल लाई प्राथमिकतामा पारिएन’, उनले भने,‘चितवन, विराटनगरतिर खोल्न इजाजत दिएको छ । पोखरामा बन्द छ । जहाज खोलेको छ, यातायात खोलेको छ तर हामीलाई मतलबै गरिएन ।’

खोप कार्यक्रम प्रभावकारी भए पर्यटन क्षेत्र राम्रो हुने अपेक्षा गरेपनि सरकारले हेलाँ गरेको उनको दुखेसो छ । केही समयअघि व्यवसायीले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना पनि दिएका थिए । ‘नो भ्याक्सिन, नो टुरिजम’ भन्ने माग सहित व्यवसायी र मजदुर आन्दोलनमा छन् । पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी, कर्मचारी, मजदुर सहित ३० हजार जनालाई तत्काल खोप उपलब्ध हुनुपर्ने उनीहरुको माग छ ।

कोरोना भाइरस महामारीका कारण डेढ वर्षदेखि पोखराको पर्यटन क्षेत्र शिथिल छ । यसको पुनरुत्थानका लागि प्रदेश सरकारले जीवन रक्षा कोष सन्चालन गरेको थियो । यसले सबै व्यवसायी नसमेटेको भन्दै कार्यविधि परिमार्जन गर्न उनीहरुले सुझाव दिए ।

जिल्लामा निषेधाज्ञा कायमै रहँदा समेत आफुहरु बाध्य भएर प्रदर्शनमा उत्रिनुपरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । ‘हामी भद्र आन्दोलनमा छौं । जवसम्म खोप प्राप्त हुँदैन तवसम्म पर्यटन क्षेत्र खुल्दैन’, अध्यक्ष भट्टराईले भने,‘सबै क्षेत्र खुल्न थालिसक्यो । पर्यटनलाई किन चासो दिईएन?’ उनले बैंक तथा वित्तीय संस्थाहरुको दवाव र सरकारको मौद्रीक नीतिको कार्यान्वयन हुन नसक्दा व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको पनि दाबी गरे ।

खोप लगाएका पर्यटकलाई निर्धक्कसँग घुम्ने वातावरण मिलाईदिन पनि व्यवसायीले माग गरेका छन् । सरकारी नीतिले बास्तविक व्यवसायीको हीत नहुने र यसलाई संशोधनसहित सबै व्यवसायीले लाभ पाउने गरी कार्यविधि बनाउन उनीहरुको माग छ । उनीहरुले कोरोनाका कारण पर्यटन व्यवसायमा परेको प्रभाव, यसको असर, व्यवसाय पुनर्जागरण, जीवनरक्षा कोष, बैंक तथा वित्तीय संस्थाको भूमिकासहित सरकारको भूमिका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका थिए । त्यसबारे कुनै सुनुवाई भने भएको छैन ।

पोखराको पर्यटन क्षेत्रमै प्रत्यक्ष वा अप्रत्यक्ष गरी ७५ हजार भन्दा बढीले रोजगारी पाएका छन् । कोरोना कहरले दैनिक १६ करोड घाटा भइरहेको ब्यवसायीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *