यातायात व्यवसायीले लकडाउन नटेर्ने, बुधबारदेखि गाडी निकाल्ने तयारी

पोखरा । पृथ्वी राजमार्ग बस सन्चालक प्रालिले देशैभर गाडी चलाउने भएको छ । लकडाउनकै दिनदेखि थुनिएर बसेका गाडी बुधबारदेखि निकाल्न लागिएको हो ।
उनीहरुले पत्रकार सम्मेलन गरि असार ३० गतेदेखि देशैभर गाडी एकसाथ सन्चालन गर्ने चेतावनी दिएका छन् । देशैभर अहिले लुज लकडाउन छ । तर लकडाउनकै बीच गाडी चलाएर सरकारको विरोधमा उत्रिन लागेका हुन् । ‘सबै क्षेत्र खुलिसके । गाडीबाट मात्रै कोरोना सर्छ र ?,’ अध्यक्ष योगेन्द्र केसीले भने, ‘गाडीमा खिया लागिरहेको छ । व्यवसायी त्यसै मर्ने अवस्थामा पुगिसके । अब हामी चुप बस्दैनौं ।’
निषेधाज्ञामा गाडी चलाउन नपाईने नियम सरकारको छ । राज्यको नीति नै पूर्वाग्रही भएकोले त्यसलाई मान्न आफूहरु बाध्य नहुने केसी बताउँछन् । ‘गाडी चलाउँदा प्रशासनले रोके जहाँ रोक्छ, स्थानीय प्रशासनसँग समन्वय गरेर गाडी गन्तव्यमा पुर्याउछौं । प्रशासनले गिरफ्तारी गरे हामी गिरफ्तारी दिन तयार छौं,’ उनले भने । कम्पनीले असार ३० देखि टिकट बुकिङ काउन्टर खोल्ने र माग आधारमा गाडी सञ्चालन गर्ने बताएको छ ।
गाडी चल्न नपाएपनि बैंक तथा वित्तिय संस्थाहरुले दैनिक किस्ता र व्याज तिर्न ताकेता गरेको उनको गुनासो छ । ‘खाने चामल छैन । किस्ता कताबाट तिर्ने ? राज्यले सबैलाई समान व्यवहार देखाउनुपर्दैन ?,’ उनी भन्छन्, ‘हाम्रो माग सम्बोधन नभए भद्र आन्दोलन सुरु गछौं । ग्यारेजबाट गाडी सडकमा उतार्छौं ।’
कोरोनाको दोस्रो भेरियन्टकोसँगै वैशाख तेस्रो सातादेखि चरणबद्ध लकडाउन गरिरहेको छ । यसले सार्वजनिक यातायात पूर्ण रुपमा ठप्प छन् । ३ लाख ५० हजार सार्वजनिक सवारीका करिब १० लाख मजदुर र कर्मचारीको प्रत्यक्ष रोजगारीमा असर पुगेको व्यवसायीहरु बताउँछन् । पोखरामा प्रधानकार्यालय रहेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत हाल १ हजार ३ सय भन्दा बढी गाडी छन् ।








