गण्डकी सरकारको विवाद मिल्यो, मनाङे खेलकुद र आचार्य ऊर्जा मन्त्री

पोखरा । गण्डकी प्रदेश सरकारको विवाद मिलेको छ । सुरुदेखि नै अर्थ मन्त्रालयको दावी गरेका जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्य उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय लिन राजी भएका छन् भने स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले युवा तथा खेलकुद मन्त्रीमा चित्त बुझाएका छन् । मनाङेले यसअघि भौतिक पूर्वाधार विकास मन्त्रीमा दावी गरेका थिए ।

योसँगै गण्डकीका सबै विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । यसअघि कांग्रेसका कुमार खड्का शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री बनेका छन् भने माओवादीकी मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छिन् ।
गण्डकीमा बजेट पास हुनुअघि सरकार विस्तार नगर्ने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यसअघि नै बताईसकेका छन् । ११ मन्त्रालय रहेको यहाँ ५ जना मात्रै मन्त्री छन् ।

सरकार बनेको १ महिना पुग्नै लाग्दा समेत मन्त्री मण्डलले पूर्णता नपाउँदा सरकारको कार्यक्षमतामाथी प्रश्न उठ्न थालेको छ । खासगरी अर्थ र भौतिक पूर्वाधार विकास मन्त्रीमा कुरा नमिल्दा सरकार विस्तार अड्किएको हो । भौतिक पूर्वाधारमा कांग्रेस र माओवादी दुवैले दावी गरेका छन् । यसअघि अर्थ मन्त्रालयमा जसपाको दावी थियो । अर्थ र भौतिक प्रदेशमा मिल्न नसकेपछि यसको विभाजन केन्द्रीय नेतृत्वलाई छोडिएको छ ।

बजेटमाथीको छलफल आइतबारदेखि हुँदै छ । यहि महिनाभित्र छलफल सकेर बजेट पास गर्ने सरकारी तयारी छ । तर विपक्षीको दाउ यो महिना बजेट रोक्ने छ । एकजना पुर्व मन्त्रीले बजेट मार्शल लगाएर मात्रै पास हुने भन्दै आफुहरुले सकेसम्म रोक्ने बताएका छन् । पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि रातो किताव हेरेर मात्रै बजेटमाथी प्रतिक्रिया दिने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *