संस्कृतमा ट्याटू छपाएका पश्चिमा कलाकारहरु

काठमाडौं । पूर्वीय क्षेत्रमा पाश्चात्य साहित्य कला र भाषाको प्रभाव धेरै छ । यो प्रभाव बढ्दै जाँदा आफ्नोपन त्याग्ने र पाश्चात्य संस्कारको सिको गर्ने क्रम बढिरहेको विषय बेलाबेला चर्चामा आउने गरेको छ । तर, पाश्चात्य कलाकारलाई पनि पूर्वीय दर्शन, साहित्य र भाषाबाट प्रभावित बन्ने गरेका छन् ।

केही कलाकारले बनाउने ट्याटूले पनि उनीहरु पूर्वीयपनलाई माया गर्छन् भन्ने देखिन्छ ।

अमेरिकी गायिका केटी पेरीले आफ्नो हातमा ‘अनुगच्छतु प्रवाहं’ भनी ट्याटु खोपाएकी छन् । अनुगच्छतु प्रवाहंको अर्थ हुन्छ— प्रवाहलाई अनुसरण गर्नु अर्थात् प्रवाहसँगै बहनु वा जानु । अंग्रेजीमा यसको अर्थ ‘गो विथ् द फ्लो’ भन्ने हुन्छ ।

रसल ब्रान्डसँग प्रेममा रहेका बेला उनले यो ट्याटू खोपाएकी थिइन् । पेरीका पूर्वप्रेमी ब्रान्डले समेत हातमा ‘अनुगच्छतु प्रवाह’ लेखेको ट्याटू खोपाएका छन् ।

विश्वचर्चित गायक आदम लभिनले आफ्नो छातीको बायाँतर्फ संस्कृत भाषामै ट्याटू खोपाएका छन् । उनले आफ्नो छातीमा बनाएको ट्याटूमा लेखिएको छ— ‘तपस्’ । संस्कृत भाषामा तपस् शब्दको अर्थ तप अथवा ध्यान गर्नु भन्ने हुन्छ ।

चर्चित गायिका रिहान्नाले पनि संस्कृत भाषामै ट्याटू खोपाएकी छन् । उनले गीताको श्लोकलाई दाहिने गोडामा खोपाएकी छन् । हिन्दू धर्मावलम्बीहरूको पवित्र शास्त्रका रुपमा रहँदै आएको श्रीमद्भगवद्गीताको श्लोकलाई गोडामा खोपाएको भन्दै उनको विरोध पनि भएको थियो ।

अर्की चर्चित अमेरिकी अभिनेत्री एलिसा मिलानोले पनि संस्कृत भाषामै ट्याटू खोपाएकी छन् । उनले आफ्नो डँडाल्नोमा ‘ॐ’ लेखेकी छन् ।
त्यस्तै हलिवुड अभिनेत्री ब्रिटानी स्नोले पनि संस्कृत भाषामा ट्याटू खोपाएकी छन् । उनले आफ्नो गोलिगाँठानेर ‘अभय’ शब्द खोपाएकी छन् । यो संस्कृत शब्द हो, जसको अर्थ हुन्छ जोसँग भय छैन, अर्थात् निडर, निर्भय ।

विश्वविख्यात अभिनेत्री, निर्माता एवं मानव अधिकारकर्मी एन्जेलिना जोलीले पनि संस्कृत भाषामै ट्याटू खोपाएकी छन् । उनले आफ्नो ढाडमा खोपाएको ट्याटू भने पाली लिपीमा लेखिएको छ । उनको ट्याटूले– ‘तिम्रा शत्रु तिमीदेखि टाढा होऊन्’ भन्ने अर्थ दिन्छ ।

यी मात्र होइन जेसिका अल्बा, डिभिड ब्याकहम, गिलियन एन्डर्सन, भेनेस्सा हजन्स, किम्बर्ली व्याट, मिले सिरस, थियो वालकट, टोमी लीलगायत विश्वचर्चित व्यक्तिले आफ्नो शरीरमा कसैले देवनागरी लिपी त कसैले संस्कृत भाषामा ट्याटू खोपाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *