१४ अर्बको हकप्रद शेयर आउने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालू आर्थिक वर्षमा कूल रु. १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार चालू आवमा विभिन्न सात कम्पनीले हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्रद शेयर भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको रहेको छ ।

नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना भएको सो कम्पनीले दर्जनभन्दा बढी आयोजनामा यसअघि नै लगानी गरिसकेको छ । कम्पनीको चुक्ता पूँजी २२ अर्ब रुपैयाँ पुर्याउन एचआडिसिएलले हकप्रद शेयर बिक्री गर्न लागेको हो । बोर्डले कम्पनीलाई  ११ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब रुपैयाँ छ ।

कम्पनीले ७६२ मेगावाट क्षमताको तमोर जलाशयुक्त आयोजना र रोल्पामा आयोजनास्थल रहेको माडीखोला जलाशयुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी गरिरहेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोर्डले यही असार ९ गते हकप्रद शेयर बिक्रीको अनुमति दिएको हो ।

यस्तै बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई रु. ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । नागरिक लगानी कोषले समेत चालू आवमा नै हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो । कोषले रु. १६ करोड ९७ लाख ५० हजार ६२५ बराबरको हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो ।

यसैगरी, नारायणी डेभलपमेन्ट बैंकले रु. एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार २००, अरुण भ्याली हाइड्रोपावर कम्पनीले रु ५२ करोड ४१ लाख १९ हजार ७०० र अपि पावर कम्पनीले  ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो । यस्तै बोर्डले चालु आवमा मात्रै २३ वटा बैंक तथा वित्तीय संस्थालाई  २३ अर्ब चार करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीका लागि अनुमति दिएको छ ।

बोर्डले पछिल्लो पटक मैलुङ खोला जलविद्युत् आयोजनालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएपछि चालू आवमा मात्रै कूल १९ कम्पनी पुगेका छन् । मैलुङ खोलाले रु सात करोड ३६ लाख २८ हजार बराबरको साधारण शेयर बिक्री गर्नेछ । बोर्डले कूल रु. १४ अर्ब ४१ करोड ५९ लाख ५३ हजार ७०० बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ ।

शुक्रबार आयोजित एक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले नेपालको धितोपत्रको विकास र विस्तारमा अत्यावश्यक रुपमा गरिने सबै कामलाई सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको बताएका छन् । यस आधारमा पनि आगामी दिन धितोपत्र बजारको विकास र विस्तारका लागि झनै सुगम बन्ने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *