‘कोरस डान्सर’ बनेर कला क्षेत्र प्रवेश गरेकी थिइन् जेनी

काठमाडौं । कलाकार तथा निर्माता जेनी कुँवर काठमाडौंको थापा गाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा हिजो राति मृत भेटिएकी छन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी रमेश थापाका अनुसार ४६ वर्षीया कुँवरले आत्महत्या गरेको र सुसाइड नोटसमेत भेटिएको सुरुवाती अनुसन्धानमा देखिएको डिएसपी थापाले बताए । उक्त नोटमा उनले आफू ‘डिप्रेसनमा परेको’ उल्लेख गरेकी छन् । उनी विगत १ वर्षदेखि डिप्रेसनमा रहेको र औषधि सेवन गरिरहेको कुँवरका श्रीमान् मनबहादुरले बताएका छन् ।
६ महिना विपश्यनामा बसेकी जेनीको मानसिक अवस्था कमजोर रहेको उनका श्रीमानले बताएका छन् । उनका एक छोरा र एक छोरी विदेशमा रहेका छन् ।
कोरस डान्सरको रूपमा चलचित्र क्षेत्र प्रवेश गरेकी उनले ‘जिन्दगानी’ चलचित्रबाट नेपाली सिने जगत्मा प्रवेश गरेकी थिइन् । राजेश हमालको मुख्य भूमिका रहेको यस चलचित्रमा जेनी राजेश हमालकी प्रेमिकाको रूपमा देखिएकी छन् । कोरसमै नृत्य गर्न आएकी उनको क्षमता देखेर चलचित्रका निर्देशक उज्ज्वल घिमिरेले अभिनयको अवसर दिएका थिए । यसबेलासम्म उनको एक नाटकसमेत प्रदर्शनमा आइसकेको थियो ।
पछिल्लो समय भने पशुपतिमा ध्यान गरेर दिनाचर्या व्यतीत गर्दै आएकी जेनी आफूलाई ‘सियानाथ’ माता बताउँदै युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै आएकी थिइन् । यही क्रममा उनी पटक पटक विवादमा समेत परेकी थिइन् । चलचित्रमा काम पाउन छाडेपछि उनी पशुपतितर्फ आकर्षित भएकी थिइन् ।
पशुपति सम्पदा संरक्षणको विषयमा प्रहरीसँग विवाद भएपछि उनी केही दिन थुनामा परेर बाहिर निस्किएकी थिइन् । अन्तर्वार्ताहरूमा उनले गलत शब्द प्रयोग गरेर तथा मन्दिरमा भएका सामग्री बेचेको जस्ता विषय उठाएर चर्चामा आउने गर्थिन् ।
उनले जिन्दगानीपछि चलचित्र धूम, मैदान, मिस्टर डन, बिन्ती पत्र, अभिमन्युलगायत चलचित्रमा अभिनय गरेकी थिइन् । त्यस्तै उनले चलचित्र घायल र हलचल निर्माणसमेत गरेकी थिइन् । कोरोनाको प्रकोप अन्त्य हुनासाथ नयाँ चलचित्र निर्माण गर्ने कुँवरको योजना रहेको उनी निकट स्रोतले बताएको छ ।








