सवारी दुर्घटनाहरूमा परी ५ जनाको मृत्यु

काठमाडौं । भक्तपुर, उदयपुर, चितवन, मोरङ र महोत्तरीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
भक्तपुर, भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटोस्थित सडकमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा-९३ प ९६५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक संखुवासभा चैनपुर घर भई सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उदयपुर, ताप्ली गाउँपालिका-५ डुढेस्थित भित्री सडकमा कटारीबाट रुपाटारतर्फ जाँदै गरेको प्र-२-०१-००-१ च-००५० नम्बरको बोलेरो गाडीबाट ओर्लने क्रममा गाडीले किच्दा गाडीमा सवार सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय रमेश नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गरेको छ ।
चितवन, भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित सडकमा गैंडाकोटबाट चौबीसकोठीतर्फ जाँदै गरेको ना.५ ख ५८१६ नम्बरको ट्रकले ना।५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार सोही ठाउँ बस्ने ३० वर्षीया विणु दवाडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भतरपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, बुढीगंगा गाउँपालिका-३ स्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २० वर्षीय रामकुमार राजबंशीको मृत्यु भएको प्रहरीले बताएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । शंकास्पद ८ वटा सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
महोत्तरी, शम्सी गाउँपालिका.१ पर्सास्थित सडकमा गौशालाबाट शम्सीतर्फ जाँदै गरेको ज.१० प २१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा बेङ्गाडावर बस्ने २९ वर्षीय बिबेक कुमार स्याङ्वोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।









