अस्पतालबाट घर फर्किए नसिरुद्दीन

एजेन्सी । भारतीय अभिनेता नसिरुद्दीन शाहलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनका छोरा विवानले केही तस्बिर सार्वजनिक गर्दै घर फर्किएको जानकारी दिएका हुन् । गतमहिना उनलाई निमोनिया संक्रमण देखिएको थियो । तस्बिर सार्वजनिक गर्दै उनले बुधबार बिहान अस्पतालबाट घर फर्किएको बताउँदै उपचारमा संलग्न चिकित्सक तथा शुभेच्छुकलाई धन्यवाद दिएका छन् ।
७० वर्षीय उनलाई गतमंगलबार मुम्बईको खर हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो ।
नसिरुद्दीन, नेसनल स्कूल अफ ड्रामा (एनएसडी) र भारतीय चलचित्र तथा टेलिभिजन संस्थान (एफटीआईआई) का पूर्वछात्र हुन् । उनी चलचित्र निशान्त, जाने भी दो यारो, इजाजत, मासुम और मिर्चजस्ता चलचित्रका कारण परिचित छन् । उनले मोहरा, सरफरोस, इश्किया, द डर्टी पिक्चर र जिन्दगी ना मिलेगी दुबाराजस्ता व्यावसायिक चलचित्रमार्फत् आफ्नो पहिचान बलियो बनाएका हुन् ।








