जुवातास खेलिरहेको अवस्थामा ५२ जना पक्राउ

काठमाडौं । काठमाडौं, झापा र स्याङ्जाका विभिन्न स्थानबाट तास खेलिरहेको अवस्थामा ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-६ आरुबारी सिमालटार चोक नजिक वाङ्चु शेर्पाको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानरगपालिका-६ बौद्ध सिमालटार बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय लालबहादुर विकलगायत २९ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १४ लाख ५९ हजार ९ सय रुपैयाँ र २० बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
यस्तै, झापा, दमक नगरपालिका-८ बस्ने २९ वर्षीय थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७ लाख ४५ हजार ५ सय रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
स्याङ्जा, भिरकोट नगरपालिका-२ ठाडो लाइनस्थित खेमबहादुर श्रेष्ठको विवेक होटलबाट तास खेलिरहेको अवस्थामा श्रेष्ठलगायत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७६ हजार ४ सय १५ रुपैयाँसहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









