दिलीप कुमारको डार्क साइड

काठमाडौं । मान्छेको मृत्यु भइसकेपछि उसका विशेषतामात्र लेख्नुपर्छ भन्ने छैन । हरेक व्यक्तिको मूल्याङ्कन उसको कर्मका आधारमा गर्नुपर्ने हुन्छ । दिलीप कुमारको डार्क साइडको चर्चा नेपालीका लागि सान्दर्भिक भएकाले स्मरण गरेको छु ।

२६ जुन १९७५ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा सङ्कटकाल लगाएर जनताको लोकतान्त्रिक अधिकार खोसिन् ।

आफ्नै पिता जवाहरलाल नेहरूले २३ वर्षअघि स्थापित गरेको लोकतन्त्रमाथि धावा बोलिन् । जयप्रकाश नारायण, मुराजजी देशाइलगायत उनका विपक्षी नेताहरूलाई जेलमा कोचिन् । मिडियामाथि अङ्कुश लगाइन् । नसबन्दी लागू गरिन् र जर्बजस्ती पुरुष बन्ध्याकरणको अभियान थालिन् । यी सबै हर्कतका पछाडि इन्दिरापुत्र सञ्जय गान्धीको शकुनी भूमिका थियो ।

जब पूरा भारत सङ्कटकालको कोपमा थियो, तब बलिउडका केही कलाकारले भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरे, ताकि भारतीय जनताको ध्यान सङ्कटकालको त्राहीमामबाट भड्काउन सकियोस् । त्यो सांस्कृतिक कार्यक्रममा सञ्जय गान्धीलाई चिफ गेस्ट बनाइयो ।

सङ्कटकाल सही हो भन्ने प्रचार गर्ने त्यसको उद्देश्य थियो । र, त्यो कार्यक्रममा सञ्जयसँगै कुम जोडेर सहभागी भएका थिए, अभिनेता दिलीप कुमार ।

भलै दिलीपकुमार महान् अभिनेता हुन्, तर लोकतान्त्रिक अधिकार खोस्ने सङ्कटकालजस्तो कालो कदमको समर्थनमा उभिएर दिलीप कुमारले सत्ताको चाकडी गरेकै हुन् । उनले त्यसअघि नै नेहरुकै सल्लाहमा युसुफ खान नाम बदलेर दिलीप कुमार राखेका थिए । म दिलीप कुमारको अभिनयको प्रशंसक त हुँ, तर अदालतको फैसलापछि सांसदसमेत नरहेकी इन्दिराले राजीनामा दिनुको साटो सत्तामा टाँसिरहन सङ्कटकाल लगाएर आफ्ना पिता नेहरूको नामसमेत बदनाम गरिरहँदा त्यसको पक्षमा उभिएका दिलीप कुमारको यो पाटो पनि सम्झनैपर्छ ।

बरु, किशोर कुमारले सङ्कटकालको पक्षमा गाउन नमान्दा उनका गीत अल इन्डिया रेडियो र दूरदर्शनमा बन्देज गरियो । सङ्कटकालकै बेला निर्माण गरिएका ‘नसबन्दी’ र ‘किस्सा कुर्सीका’लगायतका चलचित्र प्रदर्शन गर्न दिइएन । धेरै कालाकार सङ्कटकालको विरोधमा उभिँदा पनि दिलीप कुमारचाहिँ सञ्जय गान्धीसँग कुम जोडेर हिँडिरहेका थिए ।

लोकतन्त्रवादी भएकाले म दिलीप कुमारको त्यो हर्कतको पनि स्मरण गर्छु । किनकी, नेपालमा पनि इन्दिराकै अवतारका रूपमा ओली प्रवृत्ति देखा परिरहेको छ र यो प्रवृत्तिले पनि सत्तामा टिकिरहन सङ्कटकाल लगाउने खतरा छ । जसरी इन्दिराले अदालतलाई आफ्नो पक्षमा फैसला गर्न धम्की र प्रलोभन दिएकी थिइन्, ओली पनि अदालतलाई धम्काउन पछि परेका छैनन् ।

ओलीले सत्तामा टिक्ने अन्तिम अस्त्रका रूपमा सङ्कटकाल लगाएको खण्डमा हामीकहाँ पनि दिलीप कुमारजस्ता कलाकार देखा पर्नेछन् । कोमल वलीजस्ता पञ्चायतकालमा पनि खाइखेली हुर्किएका कलाकार त खुलेरै आइसके, अन्य केही कलाकारले ओलीको महिमा गान गरिसकेका छन् । इतिहासमा सत्ताको ताबेदारी गर्ने दिलीप कुमार प्रवृत्ति देखा परिरहन्छ, हरेक युगमा, हरेक देशमा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =