निषेधाज्ञा खुल्दा सेयरमा भारी गिरावट, कारोबार रकम सवा ४ अर्बमा सीमित

काठमाडौं । सरकारले मंगलबारबाट केही क्षेत्रबाहेक सबै क्षेत्रमा निषेधाज्ञा हटाएकाे छ । पसल व्यवसाय विहानैदेखि साँझकाे ६ बजेसम्म खुल्न पाउने भएका छन् । खाद्का केही पसल त साँझ ७ बजेसम्म खुल्न पाउने भएका छन् ।

सबैजसाे क्षेत्र खुला भएपछि त्यसकाे साेझाे असर सेयर बजारमा देखिएकाे छ । वैशाख १७ गतेदेखि सरकारले देशव्यापी निषेधाज्ञा सुरू गरेकाे थियाे । निशेषघाज्ञा बढ्दै जाँदा लगानीका सबै क्षेत्रहरू ठप्प जस्तै बनेका थिए । मानिसलार्इ फुर्सद पनि थियाे ।

फुर्सदकाे समयमा सेयर बजार छिरेर कमाउने चाहने नयाँ प्रवेशीहरू पनि सेयर बजारमा बढेका थिए । त्यस्तै, लगानीका अन्य क्षेत्र बन्द हुँदा सेयरमा लगानी बढेकाे थियाे । त्यसैकाे परिणाम स्वरूप जेठकाे तेस्राे सातासम्म अाइपुग्दै दैनिक काराेबार झण्डै २० अर्बकाे हाराहारीमा पुग्न लागि सकेकाे थियाे ।

यही माैकामा पुराना लगानीकर्ता तथा सेयर बजारका खेलाडीहरूले समेत राम्ररी नाफा बुक गर्न भ्याए । निषेधाज्ञा खुकुलाे हुँदै जाँदा सेयर बजारकाे काराेबार पनि कम हुँदै अायाे ।

मंगलबारदेखि सरकारले पसल व्यवसाय, यातायातलगायत सबैजसाे (केहीबाहेक) क्षेत्र मापदण्ड ताेकेर खुला गर्याे । सबै क्षेत्र खुलेपछि काराेबार रकम पनि विगतकै जस्ताे सवा ४ अर्बमा सीमित भयाे ।

मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५.२४ अंकले घटेको छ ।

यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.१९ प्रतिशतले घटेर २८१८.०८ बिन्दुमा समेटिएको छ ।

मगंलबार सेन्सेटिभ परिसूचक भने १.९७ अंकले घटेर ५२६.७५ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये पाँच उपसमुहका सूचक मात्र बढेको छ भने अन्य ८ वटा उपसमूहहरू घटेका छन् ।

यस दिन २ सय २० कम्पनीका १ करोड १ लाख ३५ हजार २ सय ९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार २ सय ५५ रूपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, यस दिन राष्ट्रिय बिमा कम्पनी लिमिटेडको सेयर मूल्य साढे ८ प्रतिशतले बढेको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सेयर मूल्य ५ प्रतिशतले बढेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *