ओलीको ‘अल्टिमेटम’सँगै घर्किँदै एमाले एकताको सम्भावना

देउवालाई दिएको समर्थन फिर्ता नलिने

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई दिएको समर्थन फिर्ता लिन विपक्षी एमालेलाई दिएको अल्टिमेटम घकिँदैछ । १३औं केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले भनेका थिए— ‘दुईदिनभित्र हस्ताक्षर फिर्ता भएन भने एकताको सम्भावना सकियो । तिनीहरु एमाले नै होइनन् ।’

यसअघि गत जेठ ८ गते मध्यरातमा भएको संसद् विघटनपछि विपक्षी एमाले विपक्षी गठबन्धनमा छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायतको गठबन्धनलाई दह्रो साथ दिइरहेको विपक्षी एमालेले देउवालाई दिएको समर्थन फिर्ता नलिने अडान लिएको छ । विपक्षी एमालेको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालले यसअघि नै भनेका छन्— ‘जालझेलपूर्ण निर्णय गराएर एकता हुँदैन ।’

संसद् निःसर्त पुनःस्थापना हुनुपर्ने, प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त हुनुपर्नेलगायतका मागहरु राख्दै १४६ जना सांसदहरुले सर्वोच्चमा रिट निवेदन बुझाएका छन्, जहाँ विपक्षी एमालेका २३ जना सांसदहरुले हस्ताक्षर गरेका छन् । यो हस्ताक्षर अहिले एमाले एकताको सर्त बन्दै आएको छ । अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता लिएर एकताको लागि आउन विपक्षी एमालेलाई प्रस्ताव गरिरहेका छन् भने विपक्षी एमालेले हस्ताक्षर फिर्ता नलिने अडान लिएको छ । नेता वेदुराम भुसालले मकालुखबरसँग भने— ‘यो पछिल्लो निर्णय पनि पार्टी एकता कायम राख्ने खालको निर्णय होइन । हामीले हस्ताक्षर फिर्ता लिँदैनौँ ।’ अध्यक्ष ओलीले यसअघि केन्द्रीय कमिटीलाई दशौं महाधिवेशन कमिटीमा रुपान्तरण गरेको थिए । तर, विपक्षी एमालेको मागबमोजिम भन्दै पुनः केन्द्रीय कमिटीमै फर्काएका छन् । यो निर्णयलाई विपक्षी एमालेले सकारात्मक रुपमा लिएको छैन ।

गत असार १८ र १९ गते बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले ‘सर्वोच्चको फैसला आउनुभन्दा अगाडिसम्म ज–जसले हस्ताक्षर फिर्ता लिन्छन्, उनीहरुसँग एकता हुन्छ । बाँकीसँग हुँदैन’ भनेका छन् ।

एमाले एकताकै अन्तिम प्रयासस्वरुप अध्यक्ष ओलीले एमालेभित्र राम्रो प्रभाव जमाएका नेता भीम रावललाई गएराति ९ बजेपछि बालुवाटार बोलाएका थिए । अध्यक्ष ओलीले नेता रावललाई हस्ताक्षर फिर्ता लिएर एकताको लागि आउन आग्रह गरेका थिए । जवाफमा नेता रावलले ‘अन्य कमरेडहरुसँग छलफल गर्छौँ’ भनेर थिए ।

संस्थापन एमालेमा नेता सुवासचन्द्र नेम्वाङ्गसँगै विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङलगायतका नेता एकताको पक्षमा छन् भने अध्यक्ष ओली, विष्णु रिमाललगायतका नेताहरु ‘जे पर्छ त्यही टर्छ’को भावमा छन् ।

शनिबार बिहान नेम्वाङ्ग, पौडेल र पोखरेल नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । ओली—नेपालबीच भेट गराउने प्रयासस्वरुप कोटेश्वर पुगेका तीन नेताहरुले त्यति उत्साह पाएनन् । ‘दुई नेता (ओली—नेपाल) मिल्नुस् सबै समस्याको समाधान हुन्छ’ भन्ने तीन नेताको प्रस्तावलाई नेता नेपालले प्रतिक्रियाविहीन भएका थिए ।

यसबीचमा ओली—नेपाललाई भेटाउनेगरी दोस्रो तहका नेताहरुले प्रयास गरिरहेका छन् । तर, नेता नेपालको अरुचीका कारण भेट नभएको संस्थापन पक्षका एक नेताले मकालुखबरलाई बताए । भने— ‘उहाँ (नेपाल) भेट्न खोज्नुभएको छैन । उहाँले रुची देखाउनुभएको भए बिहीबार नै भेट हुन्थ्यो ।’

अध्यक्ष ओलीले अदालतमा सुनुवाइ नसकिँदै विपक्षी एमालेका सांसदहरुको समर्थन देउवालाई नरहेको र एमालेका १२१ जना सांसद एक ठाउँमा रहेको सन्देश दिन खोजेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *