एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अवरोधपछि कर्णाली प्रदेशसभाको शुक्रबार बैठक अवरुद्ध भएको छ ।

आफ्नो दलबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुपर्नेलगायतका माग राखेर एमालेले शुक्रबारको संसद बैठक अवरुद्ध गरेको हो । प्रदेशसभाको आठौं (बजेट) अधिवेशनको चौधौं बैठकमा पनि एमालेका सांसदहरुले सर्वोच्च अदालतले दिएको आदेशलाई कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाउँदै विरोध गरेका थिए ।

बैठकको सुरुमै एमालेका सांसद देवी वलीले गत वैशाखमा एमालेले दिएको ह्वीप उल्लंघन गरी मुख्यमन्त्रीलाई विश्वासको मत दिने चार जना सांसदलाई पुरानै अवस्थामा फर्काएपनि सोहीबमोजिम आदेश कार्यान्वयन नभएको बताए ।

एउटा परिस्थितिमा सरकारमा सामेल भएकाहरू सर्वोच्चको आदेशपछि अर्को परिस्थिति भइसकेकाले पुनः सरकारमा सहभागी हुन नसक्ने उनले बताए । उनले न्यायलयले दिएको आदेशको उल्लंघन भएको भन्दै संसदको कारबाही अगाडि बढ्न नदिने उल्लेख गरे ।

सभामुख राजबहादुर शाहीले बजेटमाथिको छलफल अगाडि बढाउन सहयोग गर्न आग्रह गरेपनि एमालेका सांसदहरुले उठेर विरोध जनाए । सभामुख शाहीले बस्न आग्रह गरेपछि एमालेका सांसदहरुले उठेर विरोध जनाइरहेपछि प्रदेशसभाको बैठक आगामी बिहीबारसम्मका लागि स्थगित भएको छ ।

माओवादी नेतृत्वको प्रदेश सरकारमा एमालेका तीन मन्त्रीहरू भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सहभागी छन् । फ्लोर क्रस गरेका प्रकाश ज्वालासहित तीन मन्त्रीलाई एमालेले कारबाही गरेको थियो ।

जेठ २७ गते सर्वोच्च अदालतले पदमुक्त भएका चारै जनालाई एमाले सांसदको रूपमा पदमै रहन अन्तरिम आदेश दिएपछि एमाले संसदीय दलको बैठकले मन्त्रीबाट फिर्ता आउन निर्देशन दिएको थियो । यद्यपि तीनैजना मन्त्री सरकारबाट फिर्ता भएका छैनन् ।

उनीहरुले तत्काल सरकारबाट नहट्ने अडान लिएका छन् । जसले गर्दा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ । एमालेभित्रको आन्तरिक किचलोका कारण प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटमाथि छलफल हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *