३० लागिन् रिया : चलचित्र असफल तर सधैं चर्चामा

एजेन्सी । सुशान्त सिंह राजपूतको मृत्यु भएदेखि अधिक चर्चामा रहेकी रिया चक्रवर्ती आज २९ वर्ष पूरा भएकी छन् । रियाले करियरको सुरुवात मोडलिङबाट गरेकी हुन् । त्यसपछि उनले टिभी कार्यक्रमहरूमा होस्टको रूपमा काम सुरु गरिन् । ‘मेरे ड्याड की मारुती’ चलचित्रबाट बलिउडमा प्रवेश गरेकी उनी अहिलेसम्म सफल अभिनेत्री भने बन्न सकेकी छैनन् । रियाको अभिनय यात्रा असफल भए पनि उनको निजी जीवन सधैं चर्चामा रहेको छ । आज उनको जन्मदिनमा हामी उनको जीवनका चाखलाग्दा किस्साको चर्चा गर्दैछौँ :

१ जुलाई १९९२ मा बेंगलुरुमा रिया चक्रवर्तीको बङ्गाली परिवारमा जन्म भएको हो । रियाका बुबा भारतीय सेनाका अधिकृत हुन्, जसका कारण उनले अम्बाला केन्टको आर्मी स्कुलमा अध्ययन गरिन् । उनको पढाइ सकिएपछि, रियाले २००९ मा एमटीभी इन्डियाको टिभीएस स्कूटी टिन डीवा शोमा भाग लिइन् । जसमा उनले तेस्रो स्थान प्राप्त गरिन् । त्यसपछि रियाले एमटिभी दिल्लीमा एक भिजे (भिडियो जकी) का लागि अडिसन दिएर सेलेक्सनमा परिन् । उनको होस्टिङ प्रतिभालाई हेर्दै, रियाले पेप्सी एमटीवी वास्सप, टिक-टेक कलेज बिट र एमटीभी गोन इन ६० सेकेन्डजस्ता शो होस्ट गर्ने अवसर पाइन् ।

तेलुगु चलचित्रबाट अभिनय यात्रा सुरु
रियाले २०१२ मा तेलुगु चलचित्र टुनेगा-टुनेगाबाट अभिनयको आफ्नो यात्रा शुरू गरिन् । त्यसपछि उनले मेरी ड्याडकी मारूती चलचित्रबाट बलिउडमा प्रवेश गरिन् । यस चलचित्रमा रिया साकीब सलिमसँग देखिएकी थिइन् तर चलचित्र सफल भने बन्न सकेन । सन् २०१४ को चलचित्र ‘सोनाली केबल’ मा अलि फजलको अपोजिटमा सोनालीको भूमिकामा देखा परिन् । चलचित्रको गीत चर्चित भएसँगै उनी भारतीय दर्शक माझ लोकप्रिय बनिन् । यो चर्चासँगै रिया यशराज फिल्म्सको बैङ्क चोर, हाफ गर्लफ्रेन्ड र दोबारा: सी योर एविलमा काम गर्ने अवसर प्राप्त गरिन् ।

महेश भट्टसँगको प्रेम सम्बन्धको चर्चा
सन् २०१८मा रिया चक्रवर्ती चलचित्र ‘जलेबी’ मा डेब्यु नायक वरुण मित्रासँग देखिएकी थिइन् । चलचित्र महेश भट्टले निर्माण गरेका थिए । महेश र रिया चलचित्र प्रमोसनको क्रममा धेरै पटक एक साथ देखा परे । उक्त समयका भिडिओहरू सामाजिक सञ्जालमा भाइरलसमेत भए । त्यसबेला उमेर अन्तर धेरै भए पनि यी दुई सम्बन्धमा रहेको चर्चा चलेको थियो । यो खबरसँगै रिया विवादमा मुछिन थालिन् ।

रिया-महेशको तस्बिरले बढाएको विवाद
महेश भट्टको ७० औँ जन्मदिनमा महेशसँगको एक तस्बिर सार्वजनिक गर्दै रियाले लेखेकी थिइन्, ‘जन्मदिनको शुभकामना मेरो बुद्ध, सर तपाईंले मलाई मायालु व्यवहार गर्नुभयो र मलाई उडान भर्न सिकाउनुभयो ।’ अभिनेत्रीको पोस्ट सार्वजनिक हुनासाथ उनको ट्रोल हुन थाल्यो । ट्रोलिङका कारण दिक्क भएकी रियाले अर्को पोस्टमा किशोर कुमारको गीत ‘कुछ तो लोग कहेङ्गे’बाट एक हरफ लेखिन्, ‘तिमी को हौ, तिम्रो नाम के हो, सीतासमेत यहाँ बदनाम भइन् ।’

एक अन्तर्वार्ताका क्रममा महेश र रियाको सम्बन्धको बारेमा स्पष्ट पार्दै उनले महेश भट्टलाई आफ्नो बुबा मान्ने बताएकी थिइन् । सुशान्त सिंह राजपूतको मृत्युपछि पनि दुवै एक अर्कासँग लगातार सम्पर्कमा रहेको खबर सार्वजनिक भएको थियो ।

सुशान्त सिंह राजपूतको मृत्यु हुनुभन्दा ६ दिनअघि रियाले महेश भट्टसँग शङ्कास्पद कुराकानी गरेकी थिइन् । जसका स्क्रीनसटहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए । व्हाट्सएप च्याटमा महेशले रियालाई सुशान्तबाट अलग हुन सुझाव दिइरहेका थिए र उनलाई अगाडि बढ्न समेत सुझाव दिएका थिए ।

रिया-सुशान्त सम्बन्ध
रिया र सुशान्तको पहिलो भेट २०१३ मा यशराज फिल्म्सको छायाङ्कनको क्रममा भएको थियो । रिया उक्त समयमा बैङ्क चोरमा र सुशान्त सुद्ध देशी रोमान्समा काम गरिरहेका थिए । छायाङ्कनको क्रममा निकट यी दुई एक अर्काको साथी बने । २०१९ मा रिया र सुशान्त घुम्न गएको समयका केही तस्बिरहरू सार्वजनिक भए । जसले यी दुई एक साथ रहेको खबर पुष्टि गर्न बल पुग्यो । तर उनीहरूले सम्बन्धमा रहेको विषय खुलेर सार्वजनिक गरेका थिएनन् ।

बिस्तारै रिया र सुशान्त लिभ-इन सम्बन्धमा बस्न थाले । सँगै बस्न थालेको ६ महिना पछि अभिनेताले आत्महत्या गरे । सुशान्तको मृत्यु हुनुभन्दा ६ दिन अघि रियासंग झगडा भयो र उनी घर छाडेर गइन् ।

सुशान्तको मृत्युको अनुसन्धानका क्रममा रियाले उनका वकिल सतीश मानसिंदेमार्फत् सुशान्त आफ्नो परिवारसँग बस्न चाहेको दाबी गरेकी थिइन् । त्यसैले उनी परिवारका सदस्यहरूलाई फोन गरेर निरन्तर रोइरहेका थिए । जब सुशान्तकी बहिनी मितु सुशान्तसँग बस्न आउन तयार भइन्, सुशान्तले रियालाई आफ्नै घर जान भने । अर्कोतर्फ, मितुका अनुसार जून ८ मा रियाले उनलाई बोलाएर दुई जनाबीच झगडा भएको बताएकी थिइन् । मितु घर पुग्दा रिया पहिले नै घर छाडेर गइसकेकी थिइन् । सुशान्तलाई दुखी देखेर मितु १२ जुनसम्म सुशान्तसँगै रहेकी थिइन् ।

२०२० मा विवाह गर्न लागेका थिए
सुशान्तको मृत्युपछि रियाकी बहिनीले सुशान्त र रियाले २०२० को अन्त्यमा विवाह गर्न लागेको‚ जसको तयारीका लागि सम्पूर्ण परिवार मुम्बई आउने तयारीमा थिए भनेर बताएकी थिइन् । त्यस्तै घर परिवर्तन गर्ने रिया र सुशान्तको तयारी थियो त्यसैको लागि रिया निरन्तर ब्रोकरको सम्पर्कमा थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + twenty =