प्रदेश १ : प्रदेशसभा बैठक अवरुद्ध, मन्त्रीले सांसदलाई गाली गरेको आरोप

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ को प्रदेश सभा अवरुद्ध गरेको छ । भौतिक पुर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले प्रदेश सभामा आइतबार दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका सांसदले सदन अवरुद्ध गरेका हुन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता रामकुमार राईले भौतिक पुर्वाधार विकास तथा योजना मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा मन्त्री अम्बिरबाबु गुरुङले जवाफ दिने क्रममा सदनमा असंवैधानिक, अमर्यादित, अनैतिक र गैरजिम्मेवारी तरिकाले सांसदलाई गाली गलौज गर्दै सदनमा सम्बोधन गरेको आरोप लगाए ।

माओवादी केन्द्रले संसदलाई गाली गलौज गरेकाले आत्मालोचनासहित प्रदेश सभाको रोस्टमबाट माफी माग्नुपर्ने माग राखेको छ । मन्त्री गुरुङले प्रदेश सभामा बोलेको रेकर्ड हटाउनुपर्ने समेत माग अघि सारेका छन् । त्यस्तै बजेट पुनर्लेखन समिति बनेको छ भन्ने कुरा बाहिरबाट सुनिन आएकाले यो असंवैधानिक भएको पनि राईले बताए ।

‘यदि यो सत्य हो भने घोर भर्त्सना गर्दछौँ,’ उनले भने, ‘रातो किताबमा शीर्षकहरूसहितको बजेट आइसकेको छ, अमर्यादित र असंवैधानिक काम गरिँदैछ, पुनर्लेखन गर्ने हो भने सदनबाट नै हुनुपर्छ ।’ माओवादीले मन्त्री गुरुङले बोलेका अभिव्यक्तिहरू रेकर्डबाट नहटाउँदा र रोस्टमबाट माफी नमागेसम्म सदन अवरुद्ध हुने स्पष्ट पारेको छ । माओवादीको अवरोधका कारण आजको बैठक स्थगित भएको छ । अर्को बैठक मंगलवार मध्याह्न १२:३० बजेका लागि बोलाइएको छ ।

सदनमा के बोलेका थिए मन्त्रीले ?

‘आफ्नो निर्वाचित क्षेत्रमा कुनैपनि काम नगर्ने, परियोजना, डिपिआरलगायतका कुनै काममा चासो नदिने‚ अहिले सदनमा आएर एउटा व्यक्तिको चरित्र हत्या गर्ने,’ राईले भने, ‘तपाईं पनि अर्थ व्यवस्थापन समितिको सभापति हो, योबेला देखि नै बहुवर्षीय योजनासहितका कुनै जनताको पक्षमा किन कुरा नउठाएको ?’ मन्त्री गुरुङले सांसद खड्कालाई ‘तपाईं अझै सुध्रिएर आउनुस्’ भनेका थिए ।

‘९३ जना सांसदलाई बेबकुफ बनाउने काम गर्ने ? माननीयज्यू होसियार साथ बोल्नुस्, तपाईंसँग कति रिस‚ राग‚ डाह छ भन्ने मसँग रेकर्ड छ, मन्त्रीको जवाफ थियो, तपाईंसँग अलिकति पनि भिजन छैन भन्ने मैले बुझेको छु, एउटा कुञ्चित सोचबाट एउटा मानिसको चरित्र हत्या गर्ने काम नगर्नुस् ।’

उनले एक पटक रातो किताब पढेर सदनमा छलफल गर्न आउन भने । उनले खड्कालाई समस्या के हो स्पष्ट भन्न आग्रह गरे । ‘तपाईंको समस्या‚ मेरो समस्या हो, तपाईंको समस्या हल गर्ने दायित्व मेरो पनि हो,’ मन्त्री गुरुङले भने, ‘त्यो बेलामा हामीले गरेको एउटा सहमतिअनुसार तपाईंको निर्वाचन क्षेत्रमा म नजाने‚ मेरो निर्वाचन क्षेत्रमा तपाईं नजाने भन्ने सहमति भएको थियो । त्योअनुसार म पनि गइनँ । अहिले म प्रदेशको मन्त्री हो‚ मेरो जिम्मेवारीभित्र प्रदेशका १४ जिल्ला नै पर्छन् । अहिले तपाईंको क्षेत्रमा जाँदा बिजोग अवस्था छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *