८२ वर्षअघिको कीर्तिमानतिर अपराजित इटालीको यात्रा

काठमाडौं । हरेक पटकको मुख्य प्रतियोगितामा उपाधि दाबेदार मानिन्छ इटाली । विश्वकप होस् या यूरोकप, उपाधिमा सँधै ‘टक्कर दिने’ छवि बनाएको इटाली सन् २०१८ को विश्वकपमा भने छनोट हुन सकेन । त्यसपछि धेरैले इटालीबारे बढी चासो पनि राखेनन् । चार वर्षअघिको युरोमा जर्मनीसँग क्वाटरफाइनलमा पेनाल्टीसूटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको इटाली विश्वकपमा छनोट नभएसँगै आफ्नो छवि सुधार्न तल्लीन रह्यो ।

पछिल्लो पटक सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएको इटालीले त्यसयता खेलेका ३० खेलसम्म आफूलाई अपराजित राख्यो र आफ्नै कीर्तिमान भंग गर्ने अभियानमा कायम छ ।

इटालीको यो सबै जितपछिका नायक हुन् प्रशिक्षक रोबर्टो म्यान्सिनी, उनलेनै इटालीको क्षमतालाई धार लगाए र एकपछि अर्को जित निरन्तर सम्भव बनाउँदै आएका छन् । यूरोकप छनोटदेखि समूह चरणका सबै खेल जितेर इटाली अन्तिम १६ मा पुगेको छ । त्यति मात्र होइन इटालीले खेलेका पछिल्ला ११ खेलमा गोल पनि खाएको छैन ।

समूह चरणका तीन खेलमा ७ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेको इटाली समूह चरणमा गोल ल नखाइ सबै खेलमा जित निकालेर नकआउट चरण पुग्ने एक्लो टिमका रुपमा रह्यो ।

८२ वर्षे कीर्तिमान तोड्न सक्षम
चार पटकको विश्व विजेता इटाली अहिले आफ्नै ८२ वर्षे कीर्तिमान तोड्ने संघारमा छ । अष्ट्रियासँग आज यूरोकपको अन्तिम १६ को खेलमा वेम्बलिमा उसले १९३० को दशकमा कोरिएको आफ्नै कीर्तिमान भंग गर्न सक्नेछ । तत्कालीन प्रशिक्षक भिट्टोरियो पोज्जोले अक्टोबर १९३५ देखि जुलाई १९३९ सम्म इटालीलाई ३० खेलसम्म अपराजित राखेका थिए ।

यो अवधिमा उसले १९३८ को विश्वकप, १९३६ को ओलम्पिक स्वर्ण जितेको थियो । आज वेम्बलिमा जित निकाले इटालीले ३१ खेलसम्म अपराजित रहँदै आफ्नो यसअघिको ३० खेलको अपराजित यात्राको कीर्तिमान भंग गर्नेछ ।

म्यान्सिनिप्रति विश्वास
२०१८ को विश्वकपमा छनोट हुन नसकेको ६ महिनापछि म्यान्सिनीलाई प्रशिक्षक नियुक्त गरिएको थियो । इटाली १९५८ पछि पहिलो पटक विश्वकप छनोटमा असफल रहेको थियो ।

१४ मे २०१८ मा सम्झौता गरेका म्यान्सिनीलाई २०२० सम्मका लागि अनुबन्ध गरिएको थियो । यद्यपि यूरोकप एकवर्ष सरेपिछ उनको सम्झौतापनि स्वतः लम्बियो । म्यानसिनिको नेतृत्वमा इटालीले पहिलो पटक २८ मे २०१८ मा साउदी अरेबियासँगको मैत्रीपूर्ण खेलमा जित निकालेको थियो । यूरो २०२० का लागि टिम छनोट भएसँगै उनको सम्झौता २०२२ सम्मका लागि लम्बाइएको थियो । पुनः एकपछि अर्को जितले उत्साही भएको इटालीले १७ मे २०२१ मा २०२६ सम्मका लागि उनको सम्झौता बढाएको छ ।

अर्जेन्टिनासँग बराबरी
नयाँ रेकर्ड बनाउने तयारीमा इटालीले आफ्नो कीर्तिमान भंग गर्दै सर्वाधिक दोस्रो लामोसमय अपराजित टिमको कीर्तिमान बनाएको अर्जेन्टिनासँग बराबरी गर्नेछ । अर्जेन्टिनाले १९९१ देखि १९९३ सम्म खेलेका ३१ खेलमा अपराजित यात्रा कायम गरेको थियो । तर सर्वाधिक धेरै खेलसम्म अपराजित रहने टिमको सूचीमा भने ब्राजिल र स्पेन पहिलो नम्बरमा छन् । ब्राजिल १९९३ देखि १९९६ सम्म ३५ खेलमा र स्पेन पनि २००७ देखि २००९ सम्म ३५ खेलमै अपराजित रहेको थियो ।

त्यसैगरी, १९९१ देखि १९९३ सम्म ३१ खेलमा अर्जेन्टिना अपराजित थियो । १९३५ देखि १९३९ सम्म इटाली ३० खेलमा अपराजित थियो भने अहिले टोली २०१८ यता ३० खेलमा अपराजित छ । १९९४ देखि १९९६ सम्म फ्रान्स पनि ३० खेलमा अपराजित थियो । २०१८ यता लामो समय अपराजित रहने इटाली एक्लो होइन ।

यही समय अल्जेरीया अपराजित अवस्थामा छ । त्यसो त अल्जेरीयाले इटालीलाई पछ्याइरहेको छ । २०१८ देखि अहिले सम्म २७ खेलमा अपराजित यात्रा बनाएको छ । १९७८ देखि १९८१ सम्म जर्मनी २३ खेलमा अपराजित रहँदा २०१० देखि २०१२ सम्म फ्रान्स २३ खेलमा अपराजित रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *