भारतमा कोरोना : १२ सयको निधन, ४८ हजार नयाँ संक्रमित

नयाँ दिल्ली। भारतमा कोरोना भाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना सङ्क्रमित भएका हुन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने थप सङ्क्रमितको सङ्ख्याभन्दा बढी रहेको छ । अधिकारीहरुकाअनुसार सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ६४ हजार ८१८ रहेको छ ।

त्यसैगरी पछिल्लो एक दिनमा भारतमा कोरोना भाइरसका कारण थप एक हजार १८३ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोनाभाइरसको महामारीको अवस्थामा सुधार आइरहेको जनाएको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड एक लाख ८३ हजार १४३ पुगेको पनि अधिकारीहरुले जनाएका छन् । तीमध्ये दुई करोड ९१ लाख ९३ हजार ८५ जना सङ्क्रमणमुक्त भएका छन् भने तीन लाख ९४ हजार ४९३ जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार भारतमा अहिले पनि पाँच लाख ९५ हजार ५६५ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।

कुल सङ्क्रमित मध्ये ९६.७२ प्रतिशत मानिस कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको तथ्याङ्कले देखाएको छ । ती मध्ये १।३१ प्रतिशतको मात्रै मृत्यु भएको छ । भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले पछिल्लो २४ घण्टामा १७ लाख ३५ हजार ७८१ जनाको कोरोना परीक्षण गरेको छ ।

यही जुन २५ तारिखसम्ममा भारतमा अहिलेसम्म कुल ४० करोड १८ लाख ११ हजार ८९२ पटक कोरोना परीक्षण गरिएको छ । त्यसैगरी देशभरी अहिलेसम्म ३१ करोड ५० लाख ४५ हजार ९२६ मात्रा खोप प्रयोग भएको छ । ती मध्ये ६१ लाख १९ हजार १६९ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ । रासस\एएनआई

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =