मेस्सीको जन्मदिन : के यसपटक पूरा होला त त्यो एक सपना ?

काठमाडौं । विश्व फुटबलका एक महान् खेलाडी तथा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका कप्तान लियोनेल मेसी ३५ वर्ष पूरा भएका छन् । अर्जेन्टिनाको रोसरीमा सन् १९८७ जुन २४ मा जन्मिएका मेस्सीले व्यावसायिक फुटबलमा कीर्तिमानी छलाङ मारेपनि देशको उपाधि खडेरी भने टार्न सकेका छैनन् । र, यही एक खुड्किलो उनका आलोचक वा अरु कुनै खेलाडीसँग उनलाई दाँज्नेहरुका लागि देखाउने पहिले खोट बनेको छ ।

बिहीबार ३५ वर्ष पूरा भएका मेस्सीले सन् २००४ मा स्पेनी क्लब बार्सिलोनामा डेब्यू गरेका थिए । त्यसयता उनले स्पेनी क्लब फुटबल प्रतियोगिता ला लिगामा ५२० खेल खेल्दै ४७४ गोल र च्याम्पियन्स लिगमा १४९ खेलमा १२० गोल गरेका छन् ।

कोपा डेल रे मा ८० खेलमा ५६ गोल गरेका मेस्सीले अन्य प्रतियोगितामा २९ खेलमा २२ गोल गरेका छन् । समग्रमा उनले क्लबको खेल जीवनमा ७७८ खेलमा ६७२ गोल सम्भव बनाएका छन् । देशका लागि सिनियर टोलीबाट १४७ खेलमा ७३ गोल गरेका छन् ।

मेस्सीले बार्सिलोनाबाट ३५ ट्रफी उचालिसकेका छन् । त्यही प्रदर्शनको आधारमा उनले ६ पटक बालन डि’ओर अवार्ड अर्थात् सर्बोत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । उनले ६ पटक युरोपियन ‘गोल्डेन सु अवार्ड’ पनि हात पारेका छन् । यस्ता धेरै कीर्तिमान बनाउने क्रममा मेस्सीले सन् २०१२ मा क्लब र देशका लागि एकै क्यालेन्डरमा ९१ गोल गरेका थिए । उनले सो वर्ष बार्सिलोनाका लागि ७९ गोल र अर्जेन्टिनाका लागि १२ गोल गरे । यी गोल ६९ खेलमा सम्भव भएका थिए ।

पछिल्ला वर्षमा अर्जेन्टिना ठूला प्रतियोगितामा कडा टक्कर दिएपनि उपाधिबाट भने चुक्दै आएको छ । अर्जेन्टिनाले सन् १९९३ यता कोपा अमेरिका फुटबलको उपाधि जित्न सकेको छैन । अझ विश्वकप त १९८६ यता जितेकै छैन । मेस्सीकै कप्तानीमा खेलेका तीनवटा प्रतियोगिताको फाइनल पुगेर पनि अर्जेन्टिना उपविजेता मै चित्त बुझाउन बाध्य भएको छ ।

सन् २००५ मा १८ वर्षको उमेरमै हंगेरीविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका मेस्सीले ठूला प्रतियोगितामा उपाधिविहीन भएपछि सन् २०१६ मा अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने घोषणा गरेका थिए । तीन वर्षमा तीन ठूला प्रतियोगिताको फाइनलमा पुगेको अर्जेन्टिना सबैमा उपाधिविहीन भएपछि त्यसैको चोटमा मेस्सीले अन्तर्राष्ट्रिय खेलबाट विश्राम लिने अप्रत्यासित निर्णय गरेका थिए । तर समर्थक र अर्जेन्टिनाका खेल पदाधिकारीको आग्रह तथा दबाबपछि उनले निर्णय फिर्ता लिए । र फेरि उनी अर्जेन्टिनाको जर्सीमा मैदानमा जादुयी ढंगले गोल दैडाइरहेका देखिए ।

मेस्सीले अर्जेन्टिनालाई सन् २०१४ मा विश्वकप फुटबलको फाइनलसम्म पुर्याएपनि जर्मनीलाई हराउन नसकेपछि उपविजेतामै सीमित भयो । विश्वकपमा उपाधिविहीन भएर फर्किए पनि कोपा अमेरिकाको उपाधि जितेर यो घाउमा मल्हम लगाउने धुनमा थियो ।

२०१५ को कोपा अमेरिकाको फाइनलमा चिलीले पेनाल्टी सुटआउटमा मेस्सीको टोलीलाई पराजित गर्यो । लगातार दोस्रो पटक मेस्सीकै कप्तानीमा कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिना फेरि अभागी सावित भयो ।

अर्जेन्टिना समूह चरण र बाँकी खेलमा सानदार जित हात पार्दै फाइनल पुगेको टोली थियो, तर फाइनलमा पुन चिलीसँगै हारेपछि निरास बनेका मेस्सीले अन्तर्राष्ट्रिय खेल छाड्ने निर्णय लिएका थिए । तर उनको निर्णय लामो समय रहन पाएन ।

सन् २००५ मा राष्ट्रिय टोलीमा डेब्यू गरेयता अर्जेन्टिनाको जर्सीमा उनले सन् २००८ मा ओलम्पिकमा स्वर्ण र २० वर्षमुनिको विश्वकप फुटबलको उपाधि हात पारे ।

सन् १९८६ को विश्वकपको सेमिफाइनलमा इंल्याण्डसँगको खेलमा डियगो म्याराडोनाले हातले गोल गर्दै अर्जेन्टिनालाई फाइनल पुर्याएका थिए । उनले त्यो गोललाई आफैंले ‘ह्यान्ड अफ गड’ अर्थात् भगवानको हातको संज्ञा दिएका थिए । फाइनलमा जर्मनीलाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्यो ।

 

मेस्सी अर्जेन्टिनी राष्ट्रिय टिममा उदाएसँगै उनकै महत्वपूर्ण योगदानमा अर्जेन्टिना पाँच पटक फाइनल पुग्यो । तर, चारपटक पराजित भयो । मेस्सीले क्लबमा खेलेजस्तै खेल मुलुकका लागि खेल्दैनन् भन्ने आरोप लागेपनि उनले पटक—पटक टिमलाई फाइनलमा पुर्याएकाले सो आरोप उनीप्रतिको अन्याय हो । यद्धपि उपाधिका हिसाबले त्यो सफलता हात नपर्नुलाई चाहिँ उनी क्लबका लागि जति भाग्यमानी देशका लागि हुन नसकेको रुपमा बुझ्नुपर्ने उनका समर्थकहरु बताउँछन् ।

सन् २०१८ को विश्वकप छनोटमा कठिन अवस्थाको सिकार भएको अर्जेन्टिना १९७० पछि विश्वकपमा छनोट नहुने अवस्था आउँदा सारा अर्जेन्टिनाका समर्थकको भरोसा मेस्सीमाथि थियो । महत्वपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेइडरलाई ३–१ ले हरायो । खेलमा पछि परेको स्थिति उल्टाउँदै मेस्सीले ह्याट्रिक गरे र अर्जेन्टिनालाई विश्वकपमा पुर्याए । तर विश्वकपमा भने फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरियो ।

कोपा अमेरिका २०१९ लाई अर्को अवसर ठानिएपनि सेमिफाइनलमा ब्राजिलसँग २–० ले पराजित हुँदै सेमिफाइनलबाटै अर्जेन्टिना घर फर्कन बाध्य भयो । कोपा अमेरिका २०२० लाई मेस्सीले महत्वपूर्ण प्रतियोगिताको रुपमा हेरेका थिए । किनकी यसपटक प्रतियोगिता अर्जेन्टिनाले नै आयोजना गर्दै थियो । तर कोरोना भाइरसका कारण एक वर्षपछि धकेलिएको प्रतियोगिता अर्जेन्टिनाले गर्न नसक्दा अहिले ब्राजिलमा भइरहेको छ । मेस्सी र अर्जेन्टिनाका लागि यो पटक उपाधि जित्ने अवसर आएपनि त्यति सहज भने हुने छैन । अर्जेन्टिना प्रतियोगिताको नकआउट चरणमा पुगिसकेको त छ तर समुह चरणका खेल ठिकै मात्र रहेकाले अर्जेन्टिनाले सहजै उपाधि जित्छ भन्न सकिने अवस्था नरहेको विश्लेषकहरु ठान्छन् । यद्यपि जन्मदिनसँगै मेस्सीको अन्तर्राष्ट्रिय उपाधिको संकट तोडिने विश्वासका साथ उनका विश्वभरका समर्थक कामना गरिरहेका छन् ।

मेस्सीबारेका केही तथ्य
मेस्सी विश्वकै धनी खेलाडिमध्येमा पर्छन् । उनको खुद कमाइ वार्षिक १२ करोड ६० लाख डलर बराबर छ । उनको खेल कौशलबाट बार्सिलोनाका टिम डिरेक्टर यति प्रभावित भएका थिए कि उनलाई तत्काल क्लबमा अनुबन्ध गर्न चाहे । तर हस्ताक्षर गर्ने कागज नहुँदा पहिलो सम्झौता टिस्यु पेपरमा गरिएको थियो ।

सन् २००३ मा बार्सिलोनामा डेब्यू गर्दा मेस्सी विश्वभरमा १७औं तथा बार्सिलोनाका तेस्रो कलिलो खेलाडी बनेका थिए । उनी सबैभन्दा कम उमेरमा क्लबका लागि गोल गर्नै खेलाडीसमेत बने ।

मेस्सीसँग दुईवटा राहदानी छन् । उनीसँग नागरिकता पनि अर्जेन्टिना र स्पेनको छ । उनले सन् २००५ मा स्पेनको नागरिकता लिएका थिए ।
बार्सिलोनाको ‘आइकोनिक जर्सी नं. १०’ मेस्सीले सन् २००८ मा रोनाल्डिन्होबाट पाएका थिए ।

उनले फिफा वर्ष खेलाडीको पहिलो अवार्ड सन् २००९ मा पाएका थिए । स्पेनी फुटबल संघले उनलाई स्पेनको राष्ट्रिय टिमबाट खेल्न प्रस्ताव गरेपनि उनले अस्वीकार गरेका थिए ।

मेस्सीले लियो मेसी फाउन्डेसनमार्फत बालबालिकाको स्वास्थ्य उपचार र शिक्षामा वर्षेनी अर्बौं रकम खर्च गर्दै आएका छन् । उनी संयुक्त राष्ट्र संघको बालकोषको सद्भाव दूतसमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *