नेपालले खेल्ने त्रिकोणात्मक क्रिकेट स्थगित, २०२२ को जुलाईमा हुनसक्ने

काठमाडाैं । विश्वकप लिग-टूअन्तर्गत आउँदो साउन ५ गतेदेखि स्पेनमा हुने तय भएको नेपाल, स्कटल्यान्ड र नामिबियाबीच जुलाई तेस्रो साता हुने तय भएको त्रिकोणात्मक क्रिकेट श्रृंखला स्थगित भएको छ । नेपाल क्रिकेट संघ क्यानले काेराेना महामारीका कारण प्रतियोगिता सन् २०२२ को जुलाइसम्मका लागि स्थगित भएको जनाएको छ ।
आईसिसिले स्थगित प्रतियोगिता २०२२ को जुलाईमा हुन सक्ने जनाएको छ । सिरिज ५ साउनबाट सुरु भएर १५ साउनमा सकिने थियो । विश्वकप लिग-टू त्रिकोणात्मक सिरिज १८ महिनापछि हुन लागेको थियो।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नामिबियामा कोरोना भाइरसको संक्रमणका कारण खेलाडीहरुको अभ्यास र यातायातमा असर परेको भन्दै प्रतियोगिता स्थगित गरेको हो । नामिबियाले यात्रा प्रतिबन्धमा कडाइ गरेको र संक्रमण फैलिएको भन्दै तयारी गर्न समस्या भएकोबारे आईसिसीलाई जानकारी गराएको थियो । हिजो नामिबियाका चारजना खेलाडी र केही अफिसियललाई कोरोना पोजेटिभ देखिएको थियो ।

नेपालले प्रतियोगिताका लागि शुक्रबार २० सदस्य टोली घोषणा गरि मंगलबारबाट बन्द प्रशिक्षण थालेको थियो । स्कटल्यान्डमा हुनुपर्ने उक्त प्रतियोगिता कोरोना महामारीको कारण स्पेनमा सारिएको थयो । स्पेनको डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानलाई आइसिसीले गत अप्रिलमा ओडिआई मान्यता दिएको थियो । जुन मैदानमा इंग्ल्यान्डका चर्चित काउन्टी क्लबहरु डर्बीशायर, लन्काशायर र सोमरसेट अभ्याससमेत गर्दै आएका थिए ।
पछिल्लो पटक २०२० फेब्रुअरीमा विश्वकप लिग-टूअन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज नेपालमा भएको थियो ।

एकदिवसीय विश्वकप २०२३ छनोट अन्तर्गत विश्वकप लिग-टूमा सात देश र विश्वकप सुपर लिगमा १२ टेष्ट टोली र नेदरल्यान्ड्स गरि १३ देशले प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *