दोहोरो जिम्मेवारीमा रोनाल्डो : दोहोरिएला चार वर्षअघिको नतिजा कि फ्रान्सले लेला बदला ?

युरो २०२० को समूह चरणको आफ्नो अन्तिम खेलमा पोर्चुगलले आज फ्रान्ससँग खेल्दैछ । राति १२:४५ मा फ्रान्सविरुद्ध मैदान उत्रँदा स्वभाविक रुपमा पोर्चुगललाई अघिल्लो चरणमा स्थान बनाउनुपर्ने दबाब हुनेछ । र त्यो दबाबको केन्द्रमा कप्तान क्रिस्टियानो रोनाल्डो हुनेछन् । किनभने रोनाल्डोसामु साविक बिजेता टीमलाई प्रतियोगिताको अघिल्लो चरणमा पुर्‍याउनुपर्ने दायित्व त छँदैछ । अर्कातिर फ्रान्सविरुद्ध गोल गर्न नसकेको छवि सुधार्नुपर्ने पनि छ ।

सन् २०१६ को युरो फाइनलमा पोर्चुगल फ्रान्सलाई पराजित गरेर च्याम्पियन बनेको थियो । खेलको अतिरिक्त समयमा एडरले गरेको एकमात्र गोलले पोर्चुगलले अन्तर्राष्ट्रिय फुटबलको पहिलो उपाधि जित्यो । फ्रान्सले भने फाइनलमा पराजित भएपछि घरेलु मैदानमा दोस्रो र समग्रमा तेस्रो युरो जित्ने अवसर गुमाएको थियो ।

त्यसपछि फ्रान्स र पोर्चुगलले सन् २०२० को यूईएफए नेसन्स लिगमा खेलेका थिए । जहाँ फ्रान्सले पोर्चुगललाई १-० ले हराएको थियो ।

फ्रान्स र पोर्चुगलले समग्रमा २७ खेल खेलेका छन् । जसमा १९ खेलमा फ्रान्स विजयी भएको छ भने पोर्चुगलले ६ खेलमात्र जितेको छ । २ खेल बराबरी भएका छन् ।

तथ्य तथ्याङ्क

मुख्य प्रतियोगितामा यी दुई टीमबिचको पाँचौं भेट हुन लागेको हो । सुरुवाती सबै तीन खेलमा फ्रान्स विजयी हुँदा २०१६ को युरो फाइनलमा भने पोर्चुगलले बाजी मार्‍यो ।

समूहचरणमा भने यी दुई टीमले पहिलो पटक खेल्न लागेका छन् । पोर्चुगल पछिल्ला ३१ खेलमा केवल जर्मनीसँग मात्र पराजित भएको छ ।

पोर्चुगलले ६७ वटा खेलमा केवल दोस्रो पटक जर्मनीसँग चार गोल व्यहोरेको हो । २०१४ को विश्वकपमा पनि पोर्चुगलले जर्मनीसँग नै चार गोल खाएको थियो ।

फ्रान्सले ५२७ मिनेटपछि हँगेरीसँग पहिलो गोल खायो । हँगेरीसँग १­-१ गोलको बराबरीले फ्रान्सको लगातार पाँचौं जितपछि ब्रेकसमेत लगाएको छ ।

यो समूहको खेल निकै नै महत्वपूर्ण छ । किन पनि भने आफूअनुकूल नतिजा नआए साविक विजेता पोर्चुगल समूह चरणबाटै बाहिरिन सक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *