यूरोको अन्तिम १६ मा पुग्न ६ टिमबिच आज रस्साकस्सी

एजेन्सी । युरो २०२० फुटबलमा मंगलबार राती चारवटा खेलहरु हुँदैछन् । समूह ‘ई’ र ‘एफ’ का २/२ खेलहरुबाट प्रतियोगिताको नकआउट चरणमा पुग्न बाँकी ४ टीमको टुङ्गो लाग्नेछ ।

आज खेल्ने ८ टिम मध्ये २ टिम अन्तिम १६ मा पुगिसकेकाले बाँकी ६ टिमले अन्तिम १६ मा पुग्न चर्को प्रतिस्पर्धा गर्नेछन् । १२ टिमले नकआउट चरणमा स्थान बनाईसकेकाले अब ४ टिमको टुँगो लाग्न बाँकी छ ।

समूह ‘ई’ को स्पेनले स्लोभाकियासँग खेल्दैछ । खेल राति ९:४५ बजे सुरु हुनेछ । २ खेलमा २ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको स्पेन स्लोभाकियालाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ ।

स्पेनलाई खेल जित्नैपर्ने दबाब छ । यो खेल बराबरी भए अर्को खेलमा स्वीडेन विजयी भए स्लोभाकिया अर्को चरणमा पुग्नेछ । यो खेल बराबरी भए र अर्को खेलमा पोल्याण्ड विजयी भए दुबैको चार अंक हुनेछ । यस्तोमा गोल अन्तरका आधारमा अर्को चरण पुग्ने टिम तय हुनेछ ।

सोही समयमा यही समूहका स्विडेन र पोल्याण्ड खेल्नेछन् । स्विडेन ४ अंकसहित नकआउट चरणमा पुगिसकेको छ । तर, पोल्याण्डलाई हराए स्विडेन समूह विजेता बन्नेछ । १ अंक जोडेर समूहको पुछारमा रहेको पोल्याण्डको पनि अर्को चरणमा पुग्ने सम्भावना कायमै छ ।

समूह ‘एफ’ मा पोर्चुगलले फ्रान्ससँग राति १२:४५ बजे खेल्नेछ । २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । पोर्चुगललाई हराए फ्रान्स समूह विजेता बन्नेछ ।

यहि समयमा यसै समूहका जर्मनी र हंगेरी खेल्नेछन् । जर्मनी २ खेलम ३ अंक जोडेर समूहको दोस्रो स्थानमा छ । हंगेरीलाई हराएर जर्मनी र जर्मनीलाई हराएर हंगेरी पनि नकआउट चरणमा पुग्न चाहन्छन् ।

आज हुने चारवटा खेलमा दुई वटा टिम प्रतियोगिताको प्रिक्वाटरफाइनल चरणमा पुगिसकेका छन् । बाँकी ६ वटै टिमको अर्को चरण पुग्ने सम्भावना रहेकाले खेलहरु एकदमै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *