निषेधाज्ञा उल्लंघन गर्ने २९४० सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ९ सय ४० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीमध्ये ९ सय ५२ वटा गाडी र १ हजार ९ सय ८८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरीले जनाएको छ ।

साथै नयाँ भेरियन्टसहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा १ सय ९९ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रमअन्तर्गत हालसम्म जम्मा ४ लाख ५८ हजार १ सय ९० जनालाई निस्शुल्क मास्क वितरण गरिएको जनाएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ८२ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा २१ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ ।

सो क्रममा २ हजार ५ सय ३१ जनालाई रोकी सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ ।

साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको ५८ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत ३ हजार ९ सय ५१ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *