४७ वर्षका भए अभिनेता विजय 

एजेन्सी । दक्षिण भारतीय चलचित्रका सुपरस्टार थलापति विजय ४७ वर्षको भएका छन् । २२ जुन १९७४ मा चेन्नाई तमिलनाडुमा जन्मिएका विजयको परिचयका लागि अनुहार नै काफी छ ।

गत वर्ष उनको चलचित्र मास्टरले कोरोना अवधिमा सर्वाधिक कमाई गर्ने रेकर्ड बनायाे । र उनको अभिनय यात्रामा सफलताको नयाँ रेकर्ड कायम गरेका थिए । चलचित्रले सुरुवाती दिनमा नै २०० करोडको बक्स अफिस कलेक्सन गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

सबभन्दा बढी पारिश्रमिक लिने अभिनेता
विजय सर्वाधिक पारिश्रमिक प्राप्त गरेका तमिल अभिनेता हुन् । उनको आगामी चलचित्र ‘थालापति ६५’ का लागी उनले १०० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन् । पारिश्रमिकको मामलामा उनले रजनीकान्तलाई समेत पछी पारेका छन् ।   चलचित्र ‘दरबार’को लागी रजनीले ९० करोड पारिश्रमिक लिएका थिए ।

बाल कलाकारको रूपमा अभिनय सुरु
विजयको वास्तविक नाम जोसेफ विजय चन्द्रशेखर हो । तर उनी प्रशंसकहरूमा भने थलापतिको रूपमा चर्चित छन् । विजयका बुबा एसए चन्द्रशेखर कलिउडका चर्चित निर्देशक हुन् ।

विजयले आफ्नो बुबाको १५वटा चलचित्रमा अभिनय गरिसकेका छन् । जसमध्ये उनी ६ चलचित्रमा बाल कलाकारको रूपमा देखा परेका थिए । विजय रजनीकान्तको ठूलो प्रशंसक हुन् । उनीसँग विजयले बाल कलाकारको रूपमा १९८५मा प्रदर्शित चलचित्र ‘नान शिवपु मनिथान’ मा काम गरेका थिए ।

१८ वर्षको उमेरमा विजयले ‘नालैय्या थीरपू’ मार्फत नायकको रूपमा अभिनयको सुरुवात गरे । यस चलचित्रमा उनको नाम विजय थियो । उही नामले उनले आठ वटा चलचित्रमा काम गरिसकेका छन् । उक्त चलचित्र खासै सफल हुन सकेन । तर  त्यसपछि विजयले एक पछि अर्को गर्दै तीन हिट चलचित्र दिए । विजयले हालसम्म करिब ६५वटा चलचित्रमा अभिनय गरिसकेका छन्, जसमध्ये धेरै जसो बक्स अफिसमा ब्लकबस्टर साबित भएका छन् ।

उनकी आमा शोभा चन्द्रशेखर जस्तै विजय पनि एक अब्बल  गायक हुन् । चलचित्र  ‘थुपक्की’ मा उनले गाएको गीत ‘गुगल गुगल’ लोकप्रिय भयो । विजयलाई यस गीतको लागी सबैभन्दा लोकप्रिय तमिल गीतको अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *