३५ वर्षपछि मुख्य प्रतियोगितामा खेल्दै फ्रान्स र हंगेरी, यस्तो छ तथ्याङ्क

एजेन्सी । यूरोकपमा शनिबार साँझ ६:४५ मा फ्रान्स र हंगेरी खेल्दैछन् । प्रतियोगिताको पहिलो खेलमा जर्मनीसँगको संघर्षपूर्ण खेलमा १-० को जित निकालेको फ्रान्स लगातार दोस्रो जित निकाल्दै नकआउट पुग्ने ध्याउनमा हुने छ । त्यसो त खेलको अन्तिम समयमा पोर्चुगलसँग लगालग ३ गोल खाएर पराजित भएको हंगेरी फ्रान्सलाई हराएर अघिल्लो चरणको आशा कायम राख्न चाहन्छ ।

पोर्चुगलसँगको खेलमा हंगेरीले ८४ मिनेटसम्म खेलमा नियन्त्रण कायम गरेको थियो । तर त्यसपछि लगातारजसो तीन गोल खाएको थियो । खेलपछि उसका प्रशिक्षक मार्को रोस्सीले अर्को खेलमा ८४ मिनेट नभएर ९० मिनेटसम्म लागू हुने गेम प्लान तयार गर्ने बताएका थिए । प्रशिक्षक रोस्सीले विश्व च्याम्पियन तथा उपाधिको स्पष्ट दाबेदार टिमसँग जित मुस्कील भएपनि हरसंभव प्रयास गर्ने बताए ।

तर फ्रान्सका प्रशिक्षक डिडियर डेसचाम्प भने स्टार खेलाडीहरु पाउल पोग्बा, एनगोलो कान्टे, एन्टोनि ग्रिजम्यान, केलियन एमबाप्पे, करिम बेन्जामा जस्ता स्टार भएकाले ढुक्क छन् । पछिल्लो ५ खेलमा फ्रान्सले कुनै गोल नखाई जित हासिल गर्नु टिमको आत्मविश्वास बढाउने अर्को कारण हो ।

प्रशिक्षक डेसच्याम्पसले घरेलु मैदान र पोर्चुगलसँगको खेलमा देखाएजस्तै प्रतिबद्धता देखाए हंगेरीलाई हराउन फ्रान्सलाई सहज नहुने आकलन गर्छन् । यद्धपि उनी जित निकालेर दोस्रो खेलबाटै अघिल्लो चरण पुग्न प्रयास गर्ने बताउँछन् ।

तथ्य तथ्याङ्क
फ्रान्सले हंगेरीसँग मुख्य प्रतियोगिता नखेलेको ३५ वर्ष भइसकेको छ। यद्धपि त्यसअघि खेलेका दुबै खेलमा जित निकालेको छ। १९७८ को विश्वकप र १९८६ को विश्वकपको समुहचरणमा हंगेरीलाई फ्रान्सले हराएको थियो । १९७८ यता भएका पाँच भिडन्तमा हंगेरीसँग फ्रान्स हारेको छैन। पछिल्लो पटक २००५ मा भएको मैत्रिपूर्ण खेलमा फ्रान्स २-१ ले विजयी भएको थियो ।

तर, फ्रान्सले हंगेरीको मैदानमा भएका ८ भेटमा केवल एक खेलमात्र जितेको छ । बुढापेस्टमा भने फ्रान्सको हंगेरी विरुद्ध राम्रो इतिहास छैन् ।

हंगेरी पोर्चुगलसँग पराजित हुनुअघिसम्म ११ खेलमा अपराजित थियो । फ्रान्स पछिल्ला पाँच खेलमा अपराजित छ। उसले २०१६ यता लगातार ६ खेल जितेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *