म्युजिक भिडियोमा कन्ट्र्याक्ट गरेको थाहा छैन : मोडल विकास

काठमाडौँ । नेपाली म्युजिक भिडियोको क्षेत्रमा परिचित नाम हो विकास लामिछाने । पत्रकारिता गर्दा गर्दै उनले मोडालिङ यात्रा सुरु गरे । भिडियोमा देखिएको उनको चरित्रको कारण उनलाई धेरैले धोकेबाजको रूपमा पनि चिन्ने गर्छन् ।

कैले भेट्ने खै गीतमा देखिएको उनको ‘विकास’ को भूमिकाले यसमा इँटा थप्ने काम गर्‍यो । निषेधाज्ञाको समयमा पनि उनको व्यस्तता उस्तै छ । अघिल्लो पटक त उनले लगभग खाली बस्नु परेन नै । आकर्षक व्यक्तित्व र राम्रो बानीका कारण उनी धेरै म्युजिक भिडियो निर्देशकको पहिलो रोजाई बन्दै गएको  निर्देशकहरु बताउँछन् ।

तर, मीठासँगै तीता अनुभव पनि बटुलेका छन् उनले यस क्षेत्रमा । धेरैपटक काम गर्न आग्रह गर्दै गीत पठाएका निर्देशकले अन्तमा मोडल अर्कै व्यक्तिलाई लिन्छन् । यसपटक मिलेन है, अर्कोमा सँगै गरौलाँ  भन्ने प्रतिक्रिया आउँदा त बरु ठीकै छ तर गीतमा डुबेर चरित्रलाई न्याय गर्न समय खर्चिँदै गर्दा अर्को मोडललाई लिएर गीत नै सार्वजनिक हुँदा भने दु:ख लाग्ने उनी बताउँछन् ।

निर्देशक र सर्जकले कसलाई लिने पक्का गरेर मात्रै गीत पठाउने गरेमा दुबै पक्षलाई राम्रो हुने उनी बताउँछन् । तर गीत नदिँदैमा उनको निर्देशक सँगको सम्बन्ध भने बिग्रिएको छैन । आफूलाई कामकै कारण सम्बन्ध बिगार्न मन नलाग्ने बताउँछन् उनी ।

गीत दिने समय कन्ट्र्याक्ट गर्नु हुन्न र ?  भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यस्तो हुँदैन । मैले आजसम्म एउटा पनि भिडियो कन्ट्र्याक्ट गरेर गरेको छैन । र, यतिका वर्षमा अहिलेसम्म कसैले पनि कन्ट्र्याक्ट गरेर काम गरेको थाहा छैन ।’ चिनजान कै आधारमा धेरै काम गर्ने हुँदा उनको पारिश्रमिक र काम गर्ने तरिका निर्देशकलाई थाहा हुन्छ । केही समय कुराकानी गरेपछि एक बसाइमा नै काम गर्ने नगर्ने फाइनल हुन्छ । काम गर्ने मिति समय र स्थान तोकिन्छ र काम हुन्छ । विश्वासको आधारमा काम हुने गरेको उनी बताउँछन् ।

कुन गीत चल्छ भन्ने पनि अनुमान गर्न नसकिने विकासको अनुभव छ । कुनै गीतमा धेरै मेहनत गरे पनि परिणाम खासै राम्रो आउँदैन । कुनै गीतलाई सामान्य मेहनत गर्‍यो त्यो नै आफ्नै तरिकाले दर्शक बनाउँदै गइरहेको हुन्छ । यस्ता गीतहरू ह्वात्तै ट्रेन्डिङमा आउनेभन्दा पनि बिस्तारै भ्युज कमाउँदै जाने र सदाबहार गीत अन्तर्गत पर्छन् भन्ने विकासको बुझाइ छ ।

एक सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका उनलाई अफर नआएका पनि होइनन् । लकडाउन अघि र यही समयमा पनि चलचित्रको अफर आएपनि भिडियोमा जमिरहेका बेला लामिछानेलाई गलत निर्णय लिएर करियर सिद्ध्याउने रहर छैन । सञ्चारकर्मीका रुपमा पनि कार्यरत उनले गलत निर्णयका कारण धेरै जनाको ‘डाउन फल’ भएको देखेका छन् । त्यसैले हतारमा निर्णय गर्ने कुनै योजना नरहेको उनको भनाइ छ । नाम मात्रैको चलचित्रमा काम गर्नु भन्दा पर्खिनु नै ठिक लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *