पृथ्वीसुब्बा गुरुङ भन्छन्–कृष्णचन्द्र नेपाली पोखरेललाई मत दिन्नँ भन्न गाह्रो भो

काठमाडौं । गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई विश्वासको मत दिन्नँ भनेर भन्न गाह्रो भएको बताएका छन् । शुक्रवार (आज)को प्रदेश सभा बैठकको छलफलमा भाग लिँदै गुरुङले भने— ‘माननीय कृष्णचन्द्र नेपाली पोखरेलजस्तो राजनीतिज्ञलाई, प्रदेश सभाका पाका नेतालाई, लोकतान्त्रिक आन्दोलनका एक नेतालाई मलाई विश्वासको मत दिन्नँ भनेर भन्न गाह्रो भयो । म उहाँप्रति सम्मान व्यक्त गर्न चाहन्छु । उहाँ प्रतिष्ठित राजनीतिक पृष्ठभूमिबाट आउनुभएको छ ।’ तर गुरुङले राजनीतिक रुपमा पोखरेललाई मत दिन नसक्ने बताए । ‘तर, उहाँको नेतृत्वमा बनेको सरकार अवसरवादी दलहरुको समर्थनमा बनेको छ । यसो हुँदा नेकपा एमालेले विश्वासको मत नदिने जानकारी गराउँछु ।’

मुख्यमन्त्री पोखरेलले आजकै बैठकबाट विश्वासको मत लिँदैछन् । तत्कालीन मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री बनेका पोखरेलले विश्वासको मत लिएपछि मन्त्रीपरिषद् थप विस्तार गर्ने तयारी गरेका छन् ।

यस्तो छ अंकगणित
अहिले गण्डकी प्रदेश सभामा ५९ सदस्य छन् । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई सांसदबाट हटाएको छ । अब विश्वासको मतका लागि ३० सांसद आवश्यक पर्छन् ।

अहिले कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जसपाका दुई, जनमोर्चाका दुई र एक जना स्वतन्त्र सांसद छन्। मुख्यमन्त्री नियुक्त हुँदा पनि उनले यी सबैको गरी ३१ सांसदको समर्थन देखाएका थिए । प्रदेश सभामा नेकपा (एमाले)का २७ सांसद छन् ।

आज उनले विश्वासको मत लिन नसके प्रदेश सभा विघटनतिर जानेछ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश सभा विघटन गरी ६ महीनाभित्र मध्यावधि चुनावका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्नसक्ने व्यवस्था रहेको छ ।

यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त्यस्तै गर्न खोजेका थिए । तर, स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) र जनमोर्चा सांसद खिमबिक्रम शाहीले साथ छाडेका थिए । त्यस्तै, उनलाई साथ दिइरहेका कृष्ण थापालाई जनमोर्चाले कारबाही गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *