टेस्ट च्याम्पियनसिप फाइनल : आत्मविश्वासी न्युजिल्यान्ड र सशंकित भारत

काठमाडौं । टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्ड र भारत खेल्दैछन् । फाइनल खेल इंग्ल्यान्डको साउथह्याम्प्टनमा शुक्रबारबाट सुरु हुँदैछ । नेपाली समयअनुसार दिउँसो ३:१५ बाट सुरु हुनेछ ।
अगस्ट २०१९ बाट जारी प्रतियोगितामा टेस्ट मान्यताप्राप्त देशहरुले खेलेका थिए । जहाँ अंक तालिकाको शीर्ष स्थानमा रहेका दुई टीम भारत र न्युजिल्यान्डले फाइनलमा स्थान बनाएका हुन् ।
केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्ड र विराट कोहलीको कप्तानीमा रहेको भारत टेस्ट वरियतामा क्रमशः नम्बर एक र नम्बर दुई स्थानमा छन् । केही दिनअघि इंग्ल्यान्डलाई उसकै मैदानमा हराएकाले न्युजिल्यान्ड आत्मविश्वासी छ । भारतीय टीम भने इंग्लिस पिचमा सशंकित छ ।
टेस्ट क्रिकेटमा १४४ वर्षे इतिहासमा पहिलोपटक टेस्ट च्याम्पियनसिपको फाइनल हुन लागेको हो । यसलाई टेस्टको विश्वकप फाइनलका रुपमा चर्चा गरिएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टेस्ट च्याम्पियन बिजेता टिमलाई ट्रफीसहित १६ लाख डलर (करिब १९ करोड रुपैयाँ) पुरस्कार दिइने जनाएको छ ।
त्यस्तै उपविजेताले ८ लाख डलर पाउनेछ । खेल बराबरी भएमा दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिनेछ र दुवै टिमले १२-१२ लाख डलर पुरस्कार पाउनेछन् ।
टेस्ट च्याम्पियनसिपमा भारतले फाइनलसम्मको यात्रा तय गर्दा १७ खेल खेलेकोमा १२ वटा जितेको छ । ४ खेलमा पराजित हुँदा १ खेल बराबरी भएको छ । त्यस्तै न्युजिल्यान्डले १५ मध्ये ९ वटामा जित निकालेको छ । ४ खेलमा हार भोगेको छ भने २ खेल बराबरी भएको छ ।
२०२० मा न्युजिल्यान्डमा भएका २ टेस्टमा भारतीय टीम २०० भन्दा कम स्कोरमा समेटिएको थियो । त्यसो त २०२० मै अस्ट्रेलियाको एडिलेडमा भारतीय टीम केवल ३६ रनमा समेटिएको थियो । पछिल्लो पटक भारतले इंग्ल्यान्डमा २०१८ मा प्रतिस्पर्धा गरेको थियो । जतिबेला भारतीय टीमको औसत स्कोर २००-२३० रहेको थियो । बल स्विङ् हुने खतराका कारण पनि भारतीय टीम बढी संसयमा छ । वर्षातको समय भएकाले मौसम प्रतिकुल हुन सक्ने संभावना बलियो छ ।
भारतीय टीम
रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजार, बिराट कोहली (कप्तान), अजिंक्य रहाने, ऋशभ पंत (विकेटकीपर), रविन्द्र जडेजा, रबिचन्द्रन आश्विन, मोहम्मद सामी, इशान्त शर्मा, जस्प्रित बुम्राह , मोहम्मद सिराज, रिद्दिमन शा, हनुमा विहारी र उमेश यादव ।
न्युजिल्याण्ड टीम
केन विलियमसन (कप्तान), टम ब्लनडेल, ट्रेन्ट बोल्ट, डेभोन कनवे, कोलिन डी ग्र्याण्डहोम, म्याट हेनरी, कायल जेमीसन, टम लाथम, हेनरी निकोलस, एजाज पटेल, टिम साउदी, रोस टेलर, नल वागनर, बिजे वाटलिंग र विल योंङ ।








