स्थायित्वतिर जाऔं, विश्वासको मत दिनुस् : पोखरेल

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री पोखरेलले शुक्रवार (आज)को प्रदेश सभा बैठकबाट विश्वासको मत लिँदैछन् । आफूलाई विश्वासको मत दिन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले भने‚ ‘स्थायित्वतिर  जाऔं । मलाई विश्वासको मत दिनुस् ।’

यस्तो छ अंकगणित
अहिले गण्डकी प्रदेश सभामा ५९ सदस्य छन् । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई सांसदबाट हटाएको छ । अब विश्वासको मतका लागि ३० सांसद आवश्यक पर्छन् ।

अहिले कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जसपाका दुई, जनमोर्चाका दुई र एक जना स्वतन्त्र सांसद छन्। मुख्यमन्त्री नियुक्त हुँदा पनि उनले यी सबैको गरी ३१ सांसदको समर्थन देखाएका थिए । प्रदेश सभामा नेकपा (एमाले)का २७ सांसद छन् ।

आज उनले विश्वासको मत लिन नसके प्रदेश सभा विघटनतिर जानेछ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश सभा विघटन गरी ६ महीनाभित्र मध्यावधि चुनावका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्नसक्ने व्यवस्था रहेको छ ।

यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त्यस्तै गर्न खोजेका थिए । तर, स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) र जनमोर्चा सांसद खिमबिक्रम शाहीले साथ छाडेका थिए । त्यस्तै, उनलाई साथ दिइरहेका कृष्ण थापालाई जनमोर्चाले कारबाही गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *