गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन् । बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेका हुन् ।

एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दाबी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

यस्तो छ अंकगणित
अहिले गण्डकी प्रदेश सभामा ५९ सदस्य छन् । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई सांसदबाट हटाएको छ । अब विश्वासको मतका लागि ३० सांसद आवश्यक पर्छन् ।

अहिले कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जसपाका दुई, जनमोर्चाका दुई र एक जना स्वतन्त्र सांसद छन्। मुख्यमन्त्री नियुक्त हुँदा पनि उनले यी सबैको गरी ३१ सांसदको समर्थन देखाएका थिए । प्रदेश सभामा नेकपा (एमाले)का २७ सांसद छन् ।

आज उनले विश्वासको मत लिन नसके प्रदेश सभा विघटनतिर जानेछ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश सभा विघटन गरी ६ महीनाभित्र मध्यावधि चुनावका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्नसक्ने व्यवस्था रहेको छ ।

यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त्यस्तै गर्न खोजेका थिए । तर, स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) र जनमोर्चा सांसद खिमबिक्रम शाहीले साथ छाडेका थिए । त्यस्तै, उनलाई साथ दिइरहेका कृष्ण थापालाई जनमोर्चाले कारबाही गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *