सुगम ठाउँको दुर्गम बस्ती : दुई दशकदेखि आधारभूत आश्यकताबाट वञ्चित

३७ परिवार मुक्त कमैयाका लागि तीनवटा शौचालय, खुला दिशापिसाव गर्नुपर्ने बाध्यता

धनगढी । अहिले सुदूरपश्चिम प्रदेशका सबै जिल्ला सदरमुकामसहित प्रत्येक स्थानीय तह सडक सञ्जालसँग जोडिइसकेका छन् । अधिकांश ठाउँमा शिक्षा, स्वास्थ्य तथा खानेपानीको पनि प्रबन्ध भएको पाइन्छ ।

तर, कैलालीको गोदावरी नगरपालिका- ५ गेटीमा एउटा यस्तो बस्ती छ, जहाँ मानिसका लागि चाहिने आधारभूत आवश्यकता समेत छैनन् । धनगढी-अत्तरियाको ६ लेन सडकसँगै जोडिएको बस्ती हो‚ मुक्त कमैया शिविर । बस्ती बसेको दुई दशक पुगिसकेको छ ।

२०५७ सालमा कमैया मुक्त घोषणा भएपछि २०५८ सालमा सो ठाउँमा बस्ती बसाइएको थियो । अत्तरियाबाट करिब ३ किलोमिटरको दुरीमा रहेको गेटा मेडिकल कलेजकै जग्गामा रहेको सो बस्तीमा दुई दशक बित्दा पनि खानेपानीलगायतका सुविधाको अभाव छ । बस्तीमा एक वर्ष अघिसम्म विद्युत पनि विस्तार भएको थिएन । केही महिनाअघि मात्रै विद्युत लाइन विस्तार भएपछि अहिले उनीहरुले उज्यालो पाएका छन् । यसअघिसम्म अँध्यारोमा बस्दै आएका मुक्त कमैयालाई मोबाइल चार्ज गर्न पनि नजिकैको घर/पसलमा जानुपर्थ्यो । मोबाइल चार्ज गरेवापत पैसा तिर्नुपर्थ्यो ।

शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात मान्छेका आधारतभूत आवश्यकता हुन् र यी आवश्यकता पूरा गर्नु राज्यको कर्तव्य हो । प्रत्येक नागरिकलाई न्यायोचित रुपमा यी सेवा पुर्‍याएकै हुनुपर्छ । तर, सुगम क्षेत्रको दुर्गम मुक्त कमैया शिविरका बासिन्दा विद्युत, खानेपानी, शौचालयलगायतका सेवाबाट वर्षौंसम्म वञ्चित हुनपुगे । सो क्षेत्रका मुक्त कमैया परिवारले न विद्युत देख्न पाए, न त खानेपानी नै । वडाले केही समय अगाडि स्थानीयलाई समेत सहज हुनेगरी सडक छेउमै तीन कोठे शौचालय बनाएको छ ।

सडकमा आवतजावत गर्ने मानिसलाई समेत हुने गरेर निर्माण गरिएको सो शौचालय पनि शिविरका ३७ परिवारका दुई सय जनाका लागि पर्याप्त छैन । शौचालय पर्याप्त नभएपछि स्थानीय नजिकैको जंगल र खोलामा खुला शौच गर्न बाध्य छन् । ‘बस्ती बसेदेखि नै विद्युत, खानेपानीलगायतको माग राख्दै आएका थियौं,’ मुक्त कमैया शिविरकी अध्यक्ष रतरानीदेवी चौधरीले भनिन्, ‘अहिले विद्युत आएपनि खानेपानी र शौचालयमा अझै समस्या छ ।’ आफूहरूका मागबारे सम्बन्धित निकायले खासै चाँसो नदिने गरेको उनको भनाइ छ । दैनिक ज्यालादारी गरेर छाक टार्ने मुक्तकमैयालाई आधारभूत आवश्यकतासमेत नहुँदा झन सास्ती खेप्नु परिरहेको छ ।

मुक्त कमैया शिविरकी ममतादेवी डङ्गौराले पनि खानेपानी, शौचालयलगायतका सेवा नहुँदा सास्ती खेप्नु परिरहेको बताइन् । उनले पानी लिन पनि १०/१५ मिनेट हिँडेर जानुपर्ने अवस्था रहेको बताइन् । ‘नजिकै एउटा सार्वजनिक खानेपानीको धारा छ । हामी त्यहीबाट पानी भरेर ल्याउछौँ र उपयोग गर्छौ‚’ उनले भनिन् ।

गोदावरी नगरपालिकाका- ५ का वडाध्यक्ष कर्णबहादुर बोहराले मुक्तकमैया बस्तीमा समस्या देखिएपछि केही समयअघि विद्युत विस्तार गरिएको बताए । उनले बस्तीमा खानेपानी विस्तार गर्न नसकिएको र वडा कार्यालयसँगै आर्टिनमार्फत पानीको व्यवस्था गरिएको बताए ।

यसअघि वन क्षेत्रकै जग्गामा रहेको सो बस्ती अहिले गेटा मेडिकलको जग्गाभित्र पर्छ ।

बस्ती मेडिकल कलेजको जग्गामा परेपछि अब बस्ती विस्थापित हुने वा सोही ठाउँमा रहने भन्ने कुनै टुंगो लागेको छैन । ‘त्यो ठाउँमा बस्ती रहने कि नरहने भन्ने अझै अन्यौलमै छ,’ वडाध्यक्ष बोहराले भने, ‘अन्यौलताकै स्थिति भएकाले पनि सबै सुविधा पुर्‍याउन सकिएको छैन । यसको टुंगो अब सुकुम्बासी आयोग र सरकारले गर्ला ।’ मुक्त कमैयाले भने सोही ठाउँमा बस्न पाउनुपर्ने माग गर्दै आएको उनले बताए ।

शुरुमा सामुदायिक वनको स्वामित्वमा रहँदा सरकारले सो क्षेत्रमा ३२ परिवारको बसोबास गरेको थियो । अहिले त्यहाँ ३७ परिवार छन् । ‘अहिले गेटा मेडिकल कलेज निर्माणाधीन अवस्थामा छ । कलेजको भौतिक संरचना निर्माण भई अध्यापनका काम अघि बढे बस्तीको व्यवस्थापन गर्नुपर्ने हुन्छ‚’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *