सम्झनामा सुशान्त

यस्तो थियो सुशान्तको अभिनय यात्रा

काठमाडाैँ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले जून १४, २०२० मा आफ्नै बान्द्राको फ्ल्याटमा ‘झुन्डिएर आत्महत्या’ गरे । उनको निधनको एक वर्ष पुगेको छ । बलिउडका धेरै चलचित्रमा अब्बल अभिनय गरेर मन जितेका यी नायकले टेलिभिजनबाट अभिनय सुरु गरेका थिए । पछि उनले ‘काई पो चे’ चलचित्रबाट बलिउडमा डेब्यू गरे । पहिलो चलचित्रबाटै उनको अभिनयको प्रशंसा सुरु भयो ।

अन्तरिक्ष यात्री बन्न चाहन्थे
पटनाका सुशान्त चार दिदीबहिनीका कान्छो भाइ थिए । २००२ मा उनकी आमाको मृत्युपछि सुशान्तको परिवार दिल्लीमा बसाई सर्यो, जहाँबाट उनले आफ्नो शिक्षा पूरा गरे । सुशान्त अन्तरिक्ष यात्री बन्न चाहन्थे, तर परिवारको दबाबका कारण उनी दिल्ली कलेज अफ इन्जिनियरिङमा मेकानिकल इन्जिनियरिङ पढ्न भर्ना भए । सुशान्त शाहरुख खानको अभिनय देखेर अभिनयतर्फ आकर्षित भए ।

अन्तिम वर्षमा छोडे इन्जिनियरिङको पढाई
दिल्लीमा इन्जिनियरिङ गर्दा सुशान्त नृत्य सिक्न श्यामक दावरको नृत्य समूहमा आवद्ध भए । सँगसँगै नाट्य निर्देशक ब्यारी जोनबाट अभिनय पनि सिक्न थाले । २००६ मा, सुशान्तले राष्ट्र मण्डल खेलको उद्घाटन समारोहमा ऐश्वर्या रायको पछाडि कोरसमा रहेर नृत्य गरेका थिए । नृत्य र अभिनयमा बढ्दो रुचि पछि उनले इन्जिनियरिङको अन्तिम वर्षमा पढाइ छाडिदिए र मुम्बई बस्न थाले । मुम्बई आएर सुशान्तले नादिरा बब्बरको थिएटर ग्रुपमा आवद्ध भए ।

अभिनयको पहिलो प्रस्ताव
पृथ्वी थिएटरमा काम गर्दा, बालाजी टेलिफिल्म्सको कास्टिङ टोलीले सुशान्तलाई अडिसनको प्रस्ताव गर्यो । अभिनयबाट प्रभावित भएको टिमले सुशान्तलाई ‘किसान देश मे है मेरा दिल’ शोमा प्रीतसिंह जुनेजाको दोस्रो मुख्य भूमिका दिइयो । यो कार्यक्रम २००८ मा प्रसारण गरिएको थियो जसमा हर्षद चोपडा र अदिति गुप्ता पनि मुख्य भूमिकामा थिए । सुशान्तको चरित्र केही एपिसोड पछि शोबाट हटाइएको थियो । तर दर्शकमाझ उनको लोकप्रियताको कारण निर्माताहरूले उनलाई फेरि शोमा बोलाएका थिए ।

एकता कपूरको रोजाई
शो ‘किसान देश मे है मेरा दिल’ मा सुशान्तको अभिनय देखेर निर्माता एकता कपूर खुसी थिइन् । एकताले सुशान्तको नाम उनको सृजनात्मक टोलीमा सिफारिस गरिन् । पवित्र रिश्ताका लागि एकताले सुशान्तलाई मुख्य भूमिकामा हेर्न चाहन्थिन् ।

तर टिमले उनको प्रस्ताव अस्वीकार गर्‍यो । पछि एकता कपूरले ग्यारेन्टी लिएपछि भने सहमति भयो । यस कार्यक्रममा सुशान्तले मानव देशमुखको भूमिका निर्वाह गर्दै धेरै लोकप्रियता पाए । छायाङ्कनका क्रममा सुशान्त र अंकिता लोखंडेको निकटता बढ्न थाल्यो । दुवै लामो समय प्रेम सम्बन्धमा रहे ।

झन्डै साढे दुई वर्ष यो शोको हिस्सा बनेपछि सुशान्तले अमेरिकामा फिल्म मेकिंगको कोर्स गर्ने सोचे । यसको लागि उनले शो छोड्ने निर्णय गरे। यस अवधिमा उनले चलचित्र ‘राज २’ मा सहायक निर्देशकको रूपमा पनि काम गरे ।

विश्वविद्यालय छोडेर बलिउड डेब्यु
२०११ मा कास्टिङ निर्देशक मुकेश छाब्राले सुशान्तलाई अडिसनका लागि बोलाए । अडिसन पछि सुशान्तले ‘काई पो चे’ चलचित्रमा भूमिका प्राप्त गरे । यस समयमा सुशान्त स्ट्यान्फोर्ड विश्वविद्यालयमा भर्ना हुन लागेका थिए । तर बलिउड चलचित्रको प्रस्ताव आइसकेपछि उनले भारतमै रहने निर्णय गरे । चेतन भगतको पुस्तक ‘३ मिस्टेक्स अफ माई लाइफ’ मा आधारित यो चलचित्र हिट भयो । उनले राजकुमार हिरानीको चलचित्र ‘पीके’ पनि काई पो चेको छायाङ्कनकै क्रममा साइन गरेका थिए । जुन उनको तेस्रो फिल्म बन्यो।

यसराज फिल्म्ससँगको सहयात्रा
चर्चित चलचित्रहरूमा सुशान्त देखा पर्न थाले पछि उनले यसराज फिल्म्ससँग सम्झौतामा हस्ताक्षर गरे । जसको कारण उनी ‘शुद्ध देशी रोमान्स’ र ‘जासुसी ब्योमकेश बख्शी’ मा देखिए । यसपछि, सुशान्त शेखर कपूरको चलचित्र ‘पानी’ मा यशराज फिल्मसको को-प्रडक्शनमा निर्मित चलचित्रमा देखिने तयारीमा थिए । तर यो चलचित्र रोकियो । त्यसको केही महिना पछि, सुशान्तले यसराज फिल्म्ससँगको सम्झौता अन्त्य गरे।

‘छिछोरे’ एक सफल चलचित्र
सन् २०१८ मा रिलिज भएको चलचित्र ‘छिछोरे’ सुशान्तको अभिनय करियरको एक उत्तम चलचित्र मानिन्छ । नितेश तिवारी निर्देशित यो चलचित्रले नेशनल फिल्म अवार्ड पनि जितेको छ। पीके र एमएस धोनी पछि बक्स अफिसमा १०० करोडभन्दा बढी सङ्कलन गर्ने सुशान्तको यो तेस्रो फिल्म हो।

अस्वीकार गरेका चलचित्र
सुशान्तलाई अर्जुन कपूर र श्रद्धा कपूर स्टारर चलचित्र हाफ गर्लफ्रेन्ड मा कास्ट गरिएको थियो, तर अभिनेता राब्ताको कारण उनले चलचित्रमा अभिनय गर्न गरिएको प्रस्ताव अस्वीकार गरे । त्यस्तै फिल्म फितुर पनि आदित्य रोय कपूरभन्दा पहिले सुशान्तलाई अफर गरिएको थियो । सुशान्तले अभिषेक कपूरको चलचित्रको लागि धेरै महिनासम्म पर्खे तर छायांकन हुन सकेन । यसैबिच सुशान्तलाई शेखरको चलचित्र पानीको प्रस्ताव आयो र उनी फितुरबाट बाहिरिए । यी बाहेक, सुशान्तले सडक २ र रोमियो अकबर वाल्टर पनि अस्वीकार गरेका थिए ।

यी चलचित्रबाट निकालिएको थियो
सुशान्तको मृत्युपछि उनी उद्योगको लामो र क्याम्प कल्चरको सिकार बन्न पुगेको चर्चा चलेको थियो । यही कारण उनको हातबाट धेरै चलचित्रहरू बाहिर गएका थिए । सुशान्तलाई दुईपटक रणवीर सिंहले रामलीला र बेफिक्रेबाट, अर्जुन कपूर र वरुण धवनले राइफल म्यानमा प्रतिस्थापित गरेका थिए । २०१९ को एक अन्तर्वार्तामा सुशान्तले भनेका थिए कि सन् २०१८ मा उनलाई १२ वटा चलचित्रको लागि प्रस्ताव आएको थियो । तर यी अधिकांश चलचित्र उनीबाट खोसिए ।

अन्तिम चलचित्र ‘दिल बेचरा’
सुशान्त अन्तिमपटक दिल बेचरामा देखिएका थिए । जुन उनको मृत्युको एक महिना पछि जुलाई २४ मा डिज्नी प्लस हटस्टारमा रिलिज भएको थियो । कास्टिङ निर्देशक मुकेश छाब्रा निर्देशित यो पहिलो चलचित्र थियो जसले सुशान्तलाई काई पो चेमा पहिलो पटक कास्ट गरेका थिए । चलचित्र रिलिज भएको केही घण्टा पछि, फ्यानले यसलाई ९.९ को रेटिंग दिएका थिए । यो चलचित्र अहिलेसम्मको सबैभन्दा उच्च मुल्यांकन भएको चलचित्र बन्यो । अहिले भने रेटिंग घटेर ६.६ पुगेको छ। यो हलिउड चलचित्र ‘द फल्ट इन अवर स्टार’ को हिन्दी रीमेक थियो । अन्तिम चलचित्रमा सुशान्तलाई अझ धेरै प्रेम मिल्यो ।

सुशान्तले गर्न नपाएका चलचित्र
सञ्जय पूरण सिंह चौहानले सुशान्तसँग मिलेर ‘चन्दा मामा दूर के’ बनाउन लागेका थिए। रुमी जाफ्रे उनीसँगै लव स्टोरी गर्नको लागि तयारी गर्दै थिए, जबकि रमेश तोरानी एक एक्सन थ्रिलर गर्न तयारी गर्दै थिए । कमल जैन, जो एम एस धोनी: अनटोल्ड स्टोरीका निर्माता थिए, उनले सुशान्तलाई साउथको रीमेकमा हस्ताक्षर गर्न तयार गर्दै थिए । सुशान्तको मृत्यु पछि निर्माताहरूले यी सबै चलचित्रहरूलाई केही समयका लागि रोकेका छन् । –एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *