नीति तथा कार्यक्रम पुनर्लेखन गर्न विपक्षीको माग

विराटनगर । प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन दलका सांसदले नै सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा संशोधन पेश गरेका छन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीनै दलका सांसदले संघीय सरकारको ढुंगा, गिटी बिक्री गर्ने निर्णय नीति तथा कार्यक्रममार्फत सच्याउन माग गर्दै आइतबार प्रदेश १ सभामा संशोधन प्रस्ताव पेश गरेका हुन् ।

नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाले नेपाली कांग्रेस संसदीय दलको तर्फबाट विभिन्न बुँदाहरू संशोधन गर्न सरकारलाई सुझाव दिए ।

आर्थिक अवस्था ऋणत्मक अवस्थामा गएका बेला कार्यान्वायनको गति, बजेट कार्यक्रम कार्यान्वयन हुन नसक्नुको अहिलेको अवस्था सिर्जना हुनुको कारण, सरकारले गरेको कार्यान्वयन पक्षको कमजोरीले नीति तथा कार्यक्रम सफल नहुने त होइन भन्ने कारणसहित संशोधनको प्रस्ताव पेश गरिएको उनले बताए ।

नेपाली कांग्रेसले प्रस्तुत गरेको संशोधन प्रस्तावमा गतवर्ष ऋणत्मक रहेको आर्थिक वृद्धिदर ३ दशमलव ६ भएकाले अस्वभाविक अनुमानमा संशोधन हुनुपर्ने भन्दै उनले कोभिड महामारीसँग जुध्ने विषयलाई लिएर सरकारले नियन्त्रण गर्नुको साटो नियन्त्रण गर्ने उपायमात्र उल्लेख गरेको बताए ।

उनले कोखदेखि शोकसम्म कार्यक्रम लागू गर्न, मौसम पूर्वानुमान विभागले हुनसक्ने बाढी, पहिरो कटानका लागि योजना र संयन्त्रसहित बजेट व्यवस्थापनको विषयलाई संशोधन गर्न सुझाव दिए ।

नेकपा माओवादी केन्द्रका सांसद मोहनकुमार खड्काले माओवादीको तर्फबाट संशोधन प्रस्ताव राख्दै नीति तथा कार्यक्रमलाई पुनर्लेखन गर्न प्रस्ताव राखे । अधिकांश नीति तथा कार्यक्रम नमिलेको र भद्दा भएको कारण पुनर्लेखन गर्नुपर्ने उनको सुझाव छ ।

जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले ढुंगा, गिटी निकासी गर्ने संघीय सरकारको निर्णय कार्यान्वयन हुन नदिन माग गर्दै प्रदेश १ सभामा संशोधन प्रस्ताव पेश गरेका हुन् ।

प्रदेश सभामा प्रदेश १ सरकारले प्रस्तुत गरेका आगामी वर्षको नीति तथा कार्यक्रममा संशोधन माग गर्दै प्रस्ताव पेश गरेका हुन् ।

ढुंगा, गिटी उत्खनन र बिक्री गर्ने संघीय सरकारको योजनाले देशकै अन्नभण्डार मानिएको प्रदेश १ को चुरे क्षेत्रको चरम विनाश हुने, पानीको स्रोत सुक्ने, पर्यावरण र जैविक विविधताको नाश हुने भएकाले प्रदेश १ लाई मरुभूमि हुनबाट जोगाउन नीति तथा कार्यक्रममा प्रदेश १ बाट ढुंगा, गिटी निर्यात गर्न नदिने गरी निर्णय गर्नुपर्ने यादवले माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *