धम्क्याउने सांसदलाई इन्स्पेक्टरले दिए नाम र ठेगाना…(भिडिओसहित)

काठमाडौं । शनिवार साँझ ६ बजेको हुँदो हो । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगै चारजना मन्त्रीले शपथ ग्रहण गर्ने कायक्रम थियो । कार्यक्रम प्रदेश प्रमुख सीताकुमारी पौडेलको निवासमै थियो । त्यहाँ सांसदहरुलाई मात्रै प्रवेश गर्न दिइने निर्देशन थियो । निर्देशनअनुसार वडा प्रहरी कार्यालय, बैदामका प्रहरी निरीक्षक (इन्स्पेक्टर) श्याम थापामगरको नेतृत्वमा प्रहरी खटिएका थिए ।

निर्देशनानुसार इन्स्पेक्टर थापामगर र अन्य प्रहरीले सांसदबाहेकलाई प्रदेश प्रमुख निवासमा कसैले छिर्न दिएनन् ।

त्यति नै बेला नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले आफ्ना स्वकीय सचिवलाई प्रदेश प्रमुखको कार्यालयतिर लैजान खाेज्छन् । तर प्रहरीले सांसद बाहेकलाई भित्र प्रवेश गर्न दिँदैन । उनले आफ्ना पीएलाई तानेर भित्र लैजान खाेज्दा प्रहरीले नमिल्ने बताउँछ । प्रहरीले मिल्दैन भन्नासाथ सांसद श्रेष्ठ ठुल्ठुलाे श्वरमा कराउन थाल्छन् किन मिल्दैन ? कसरी मिल्दैन ?
‘मिल्दैन सर  भित्र अलाउ छैन, माननीय ज्यूहरुलाई मात्र भनेको छ ।’ इन्स्पेक्टर थापामगर सहित प्रहरी सहायक निरीक्षकले भन्छन् । त्यसपछि सांसद श्रेष्ठ मलाइ अपहरण गर्ने भन्दै कराइरहेकाे पनि देखिन्छ ।
प्रदेश सांसद श्रेष्ठ आफ्ना स्वकीयलाई भित्र जान नदिएकोमा थप रिसाउँछन् । प्रहरीले मिल्दै नमिल्ने र आफूहरुले आदेश त्यस्तै पाएको भनेपछि उनी प्रहरीलाई हप्काउँछन् र भन्छन्— ‘…फूर्ति नसाँधौँ । तपाईंको हिसाबकिताब हुन्छ क्या, तपाईंको हिसाबकिताब हुन्छ ।’

त्यो सुनेपछि छातीमा आफ्नो नाम टाँसिएको बिल्ला देखाउँदै इन्स्पेक्टर थापामगर भन्छन्— ‘हुन्छ हुन्छ, मेरो नाम श्याम थापामगर हो । बैदाममा कार्यरत छु ।’ जवाफ दोहोर्याउँदै उनी भन्छन्– ‘हुन्छ हुन्छ गर्नुस् म यहीँ बैदाममै कार्यरत छु ।’

यसरी आफ्नो ‘आदेश’ नमानेकोमा ‘देखाइदिन्छु’ भन्ने मनसायबाट आफूलाई थर्काउने सांसद श्रेष्ठलाई इन्स्पेक्टर थापामगरले ठाउँको ठाउँ सेखी झार्ने खालको जवाफ फर्काए ।

के भन्छन् इन्स्पेक्टर थापामगर ?
यसबारेमा बुझ्न हामीले इन्स्पेक्टर थापामगरलाई फोन गर्यौँ । मकालुखबरसँग हाँस्दै उनले भने— ‘उहाँले त्यसरी हप्काएपछि आफ्सेआफ जवाफ आयो, दिएँ । अहिले हेरेको त सामाजिक सञ्जालभरी रहेछ । त्यो खासमा ठूलो विषय पनि थिएन । हामीले माननीयज्यू बाहेकलाई छिर्न दिइरहेका थिएनौँ । त्यहीबलो बेला उहाँ आउनुभयो र स्वकीय सचिवलाई छिराउन खोज्नुभयो । त्यसपछि त्यो घटना घटेको हो । खासै ठूलो विषय होइन । हिसाबकिताब नै हुन्छ भनेपछि मलाई पनि मुखमा फ्याट्ट जवाफ आइहाल्यो अनि जवाफ दिएँ ।’

स्याब्बासीको ओइरो
अहिले सामाजिक सञ्जालमा इन्स्पेक्टर थापामगरको प्रशंसा भइरहेको छ । आफ्नो माथिल्लो तहको आदेशानुसार ड्यूटी गरिरहेका बेला थर्काउँदै ‘हिसाबकिताब गर्छु’ भनेपछि रिस उठ्नु स्वाभाविक भएको र नाजायज काम नगरेको र गलत काम नटेरेको भन्दै धेरैले थापामगरलाई स्याब्बासी दिइरहेका छन् ।

इन्स्पेक्टर थापामगरले सांसद श्रेष्ठलाई दिएको जवाफको अहिले सामाजिक सञ्जालहरु तारिफ गरिएका छन् भने कतिले सांसद श्रेष्ठलाई कारबाहीको कठघरामा उभ्याउनुपर्नेसमेत बताएका छन् । यस्तै कतिले रमाइला टिप्पणीसमेत गरेका छन् । विनोद आचार्य नाम गरेका ट्वीटर प्रयोगकर्ताले भनेका छन्— ‘लु छुउँ त सांसद सर प्रहरीलाई ।’ नरेन्द्र श्रेष्ठले लेखेका छन्— ‘श्याम थापामगरज्यू जय नेपाल भन्न चाहन्छु ।’
‘प्रहरीलाई अपमान गर्नेलाई कारबाही गर । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सम्मान गरौँ । नखाएर, दिशा—पिसाब नगरेर, खाजा–पानी नखाएर सेवामा खट्नेलाई सम्मान गरौँ । यस्तालाई कारबाही नगेर प्रहरीको आत्मबल घट्छ,’ ट्वीटरमा काजीशंकरजंग पाण्डेले भनेका छन् । यसरी फेसबूकमासमेत घटनाबारे विभिन्न टिप्पणी गरिएको छ । सबैजसोले इन्स्पेक्टर थापामगरलाई स्याब्बासी दिएका छन् ।

 



प्रतिक्रिया

One thought on “धम्क्याउने सांसदलाई इन्स्पेक्टरले दिए नाम र ठेगाना…(भिडिओसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *