खेल हारेर पनि जीवन जितेको डेनमार्क

काठमाडौं । यूरोकप २०२० को आफ्नो पहिलो खेलका क्रममा मैदानमै ढलेपछि डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सनलाई अस्पताल भर्ना गरिएको छ । घरेलु मैदानमा फिन्ल्यान्डसँग खेल्ने क्रममा उनी  अचानक मैदानमै ढलेका थिए । मैदानमा प्राथिमक उपचारपछि खेल स्थगित गरि उनलाई अस्पताल भर्ना गरिएको हो ।

यी डेनिस फुटबल स्टारको अवस्था स्थिर र खतरामुक्त रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी अहिले होसमा छन् भने उनको अवस्था स्थिर रहेको छ । डेनिस फुटबल फेडेरेसनले एरिक्सनको अवस्था अब ठिक रहेको, उपचार प्रक्रिया जारी रहेको र थप स्वास्थ्य परिक्षणहरु भइरहेको जनाएको छ ।

थ्रोइङ बल रिसिभ गर्न जाने क्रममा उनी एक्कासी मैदानमा ढलेपछि सीपीआर (कार्डियोपल्मोनरी रिससिटेशन) गरिएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।

‘डेनमार्कले खेल हार्‍यो तर जीवन जित्यो’
यूरोकपको आफ्नो पहिलो खेल घरेलु मैदानमा शुरु हुँदै गर्दा डेनमार्कका खेलाडी थप उत्साही थिए । मैदानमा उपस्थित दर्शकले उनीहरुको हैसला बढाइरहेका थिए । नव प्रवेशी टिमसँग खेल्नुपर्दा जित्ने आशा पनि अलि बढी नै थियो ।

तर खेल शुरु भएको केही समयपछि अचानक मैदानमा सन्नाटा छायो । मैदानका खेलाडी र प्यारापिटका दर्शकका आँखा आँसुले भरिए । डेनमार्कको कोपनहेगनमा मात्र होइन विश्वभरि खेल हेरिरहेका लाखौं मानिसको मुहार मलिन भयो र उनीहरु एरिक्सनको स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सञ्जालमा प्रार्थना गर्न थाले ।

मेडिकल आपतकाल घोषणा गरेर खेल स्थगित भयो ।

स्तब्धताले भरिएको यो रात केहीबेरपछि शुरु भएको खेलमा घरेलु टिम पराजित भयो । कोपनहेगनको यो दुःखद् रातपछि डेनिस अखबारहरुले डेनमार्कले हारेपनि जीवनले जितेको टिप्पणी गरेका छन्। अखबारहरुले मैदानमा खेलाडी र मेडिकल स्टाफले देखाएको सुझबुझपूर्ण व्यवहारका कारण एरिक्सनको जीवन जोगिएको भन्दै खुसी व्यक्त गरेका छन् ।

उनी होसमा आएकोलगायत स्वास्थ्य अवस्थाको अपडेट आएसँगै झन्डै डेढ घन्टापछि खेल शुरु गरिएको थियो । जहाँ फिनल्यान्डले डेनमार्कलाई १-० ले पराजित गर्‍यो । जुन उसको डेब्यू जीत थियो ।

सबैको सुझबुझपूर्ण व्यवहार
एरिक्सन मैदानमा ढलेपछिको दृश्य निकै भावनात्मक बनेको थियो । एरिक्सनको यो बेहोसीदेखि जीवनसँगको यात्रामा कप्तान सिमोन केयर तथा टिमका साथी खेलाडीको भूमिका महत्वपूर्ण रह्यो ।

कप्तान सिमोनले एरिक्सन बेहोस भएलगत्तै देखे र स्वास्थ्य टिम नआइपुगुन्जेल प्राथमिक स्वास्थ्य सेवा दिए । उनले एरिक्सनको स्वास नरोकियोस् भन्नका लागि जिब्रोले एअर पासको व्यवस्थाका मिलाइदिए । स्वास्थ्य टिम आएपछि डेनिस खेलाडीले उपचार प्रक्रियाको गोप्यताका लागि एरिक्सनको वरिपरी मानव साङ्लो बनाएर आँसु चुहाउँदै उनको स्वास्थ्यलाभको प्रार्थना गरेका थिए ।

मैदानमा स्वास्थ्य टिमले प्रारम्भिक उपचार गरेर अक्सिजन दिएपछि स्ट्रेचरमा राखेर उनलाई अस्पताल लगिएको थियो । विपक्षी फिनल्याण्डका समर्थकले पनि उनको जीवन बचाउन राम्रो भूमिका निर्वाह गरे । उनीहरुले उपचार प्रक्रियाको गोप्यताका लागि आफ्नो देशको झण्डालाई पर्दाका रुपमा प्रयोग गर्न दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *