सत्ताप्राप्तिका लागि गरिने गठबन्धनमा चाँडै विग्रह आउँछ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ताका लागि गरिने गठबन्धनमा चाँडै नै विग्रह शुरु हुने बताएका छन् । पदमुक्त भएपछि आइतबार (आज) पत्रकार सम्मेलन गर्दै गुरुङले यस्तो बताएका हुन् ।

पत्रकारहरुसँगको सवाल—जवाफका क्रममा गुरुङले भने— ‘म कामना गर्छु उहाँहरुको सरकार चलोस् । तर, सत्ताप्राप्तिका लागि गरिने गठबन्धनमा चाँडै/छिट्टै नै विग्रह हुन्छ । त्यसो भन्दा फेरि उहाँहरुको झगडा परिहालोस् भन्ने होइन । चलोस् उहाँहरुको सरकार मज्जाले चलोस् । तर, विग्रह चाँडै शुरु हुन सक्छ । एकलौटी सरकारमा त गुट उपगुटहरु बन्छन् भने गठबन्धनमा त गाह्रो हुन्छ ।’

यस्तै गुरुङले आफूले मुख्यमन्त्री पदमा गरेको दाबी अवैधानिक नभएको जिकिर गरे । राष्ट्रिय जनमोर्चा गण्डकीलाई लक्षित गर्दै गुरुङले भने— ‘यहाँका ५९ जना नै प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी गर्न सक्छन् । मैले किन दाबी गर्न नपाउने ? म पनि एमालेको संसदीय दलको नेता हुँ । संविधानतः सभामुखबाहेक सबै सदस्यले मुख्यमन्त्री बन्न पाउँछन् । दाबी गर्न पाउँछन् ।’

आफूले केन्द्रको निर्देशनमा नभएर आफ्नै स्वेच्छाले मुख्यमन्त्रीमा दाबी गरेको गुरुङले बताए । ‘मैले आफ्नै स्वेच्छाले मुख्यमन्त्रीमा दाबी गरेको हुँ,’ गुरुङले भने— ‘मैले कुनै कसैको भरमा प्रदेश सरकार चलाएको पनि होइन र हिजो मुख्यमन्त्रीमा दाबी गरेको पनि होइन ।’ केन्द्रले दबाब दिएको भन्ने प्रश्न गरेका पत्रकारप्रति आक्रोशित हुँदै गुरुङले भने— ‘के प्रमाण छ तपाईंसँग केन्द्रले दबाब दिएको छ भनेर ? म कुनैको दबाबमा रहन्न । मैले मुख्यमन्त्रीमा टिकिरहन खोजेको पनि होइन, त्यस्तो प्रयास मैले कहिल्यै गरिनँ । हिजो पनि गरिनँ, आज पनि गरेको छैन र भोलि पनि गर्ने छैन ।’

सदनबाट विश्वासको मत लिन नसकेपछि गण्डकीमा अहिले कांग्रेस नेतृत्वको सरकार बनिसकेको छ । माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेको समर्थनमा कांग्रेस गण्डकीका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् । पोखरेलले शनिवार नै ४ मन्त्रीहरुलाई शपथ ग्रहण गराइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *