गण्डकी प्रदेश

‘जनमोर्चा र जसपाको समर्थनमा’ मुख्यमन्त्रीमा गुरुङको पनि दाबी

काठमाडौं । विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुनः मुख्यमन्त्रीमा दाबी गरेका छन् । गुरुङले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका तत्कालीन संसदीय दलका नेता कृष्ण थापाको पत्र र महन्थ ठाकुरपक्षीय जनता समाजवादी पार्टीको पत्रसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

जनमोर्चाले कारबाही गरिसकेको थापालाई संसदीय दलकै नेता मानेर गुरुङले उनको पत्रको आधारमा जनमोर्चाका तीन सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका हुन् । त्यस्तै ठाकुरपक्षीय एक सांसदले ल्याएको जसपाको प्रदेश कमिटीको निर्णय लिएर जसपाको पनि समर्थन आफूलाई रहेको गुरुङले दाबी गरेका छन् । सांसद कृष्ण थापाले मकालु खबरसँग भने— ‘मलाई पार्टीले कारबाही गरिसकेको छैन । कथित कारबाहीले हुँदैन । प्रदेश प्रमुखलाई पत्र मैले नै पठाएको हुँ ।’

प्रदेशसभामा सबैभन्दा धेरै सदस्य रहेको संसदीय दलका नेताका हैसियतमा गुरुङ गत वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले बिहीबार प्रदेश सभामा विश्वासको मत हासिल गर्न नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । जुन शनिवार (आज) ३ बजे सकिएको छ । त्योभन्दा केही समय अगाडि गुरुङ प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

त्यसपछि हिजै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको पदमा दाबी पेश गरेका थिए । नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुखसमक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले दाबी पेश गरेका थिए ।

गण्डकी प्रदेश सभामा हाल ६० सदस्य छन् । प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेका २७ सांसद छन् । मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिँदा तिनै २७ सांसदले मात्र पक्षमा मतदान गरे । अर्कोतिर विपक्षमा ३० मत खसेको थियो । जनमोर्चाका थापाले विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने पार्टीको ह्वीप उल्लंघन गर्दै बिहीबार तटस्थ रहे । त्यसपछि उनलाई पार्टीले पुनः कारबाही गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *