१३ पटकका विजेता नाडाललाई हराउँदै जोकोभिच फाइनलमा

काठमाडाैं । फ्रेन्च ओपन टेनिसमा १३ पटकका विजेता राफेल नाडालको दबदबा अन्त्य भएको छ । शुक्रबार राति भएको सेमिफाइनलमा विश्व नम्बर एक सर्वियन नोभाक जोकोभिचले तेस्रो बरियताका स्पेनिस नाडाललाई ३-६, ६-३, ७-६ (७-४) र ६-२ को सेटमा पराजित गरे ।
४ घन्टा १८ मिनेट लामो भिडन्तमा नाडाललाई पराजित गर्दै जोकोभिच फाइनल प्रवेश गरे । जोकोविचले उपाधिका लागि स्टेफानोस सिट्सिपाससँग आइतबार खेल्नेछन् । यस्तै, १८ पटकका ग्रान्डसलाम विजेता जोकोभिच १९ औ ग्रान्डसलाम नजिक पुगेका छन् ।
नाडाल जोकोभिच भिडन्त
पछिल्लो चारवर्षदेखि फ्रेन्च ओपनको विजेता रहँदै आएका नाडाल २१ औं ग्रान्डसलामको प्रतिक्षामा थिए । तर उनको सपना जोकोभिचले पूरा हुन दिएनन् । यी दुईबिच अहिलेसम्म कुल ५८ खेल भएकोमा जोकोभिचले ३० र नाडालले २८ खेलमा जित निकालेका छन् ।
ग्रान्डसलाम भिडन्तमा यि दुई बिच १७ पटक खेलेका छन् । १७ खेलमा नाडालले १० खेलमा जित निकाल्दा जोकोभिचले ७ खेलमा जित हासिल गरेका छन् । क्ले कोर्टमा भने नाडाल बादशाहका रुपमा रहँदै आएका छन् । नाडालले अहिलेसम्म फ्रेन्च ओपनमा खेलेका १०८ मध्ये तीन खेलमा मात्रै हार बेहोरेका छन् ।








