भारतले सडक निर्माण गर्दा नेपालको बाटो अवरुद्ध, प्रजिअले पठाए पत्र

धनगढी । भारतले आफ्नो भूमिमा सडक खन्दा नेपालतर्फको घोडेटो बाटो भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक खण्ड निर्माणको क्रममा विष्फोटक पदार्थ विष्फोट गर्दा नेपालतिरको बाटोमासमेत असर पुगेको हो ।

स्थानीयकाअनुसार प्रहरी चौकी दुम्लीङबाट करिब दुई सय मिटर उत्तरी क्षेत्रमा पर्ने तम्बाकु क्षेत्र नजिकै नेपालतिरको बाटो पुरै अवरुद्ध भएको छ । विष्फोट गर्दा भारततर्फबाट आएको पहिरोले महाकाली नदी थुनिनुका साथै आएका ठूला ढंगाले नेपालतर्फको बाटो भत्किएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिए । भारतले अहिले सडक निर्माणका लागि ठाउँ-ठाउँमा विस्फोट गराइरहेको छ ।

उनका अनुसार स्थानीय र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको घोडेटो बाटो पूर्ण रुपमा भत्किएको छ । जसले गर्दा नेपालतिरको आवतजावत पूर्ण रुपमा बन्द भएको छ । भारतले धार्चुला लिपुलेक मानसरोवर सडक दुई लेनको बनाउनका लागि हाल गर्वाधार क्षेत्रमा चट्टान काटिरहेको छ ।

ढुंगा महाकाली नदीमा गएर नदीको धार परिवर्तन गरेको छ। भारत सरकारले महाकाली नदी किनारै किनार भएर सडक निर्माण गरेको छ । जसको कारण अधिकांश ढुंगाले नदी थुनिने र नेपालतिर क्षति पुर्याउने गरेको छ । भारतीयले सडक निर्माणको क्रममा ढुंगा आएर अवरुद्ध भएको छाङरु जोड्ने नेपालतिरको घोडेटो बाटो प्रहरी र स्थानीयको सक्रियतामा निर्माण सुरु गरिएको छ ।

भारतलाई पत्र
नेपालतर्फको बाटो भत्काउने र नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी सीमावर्ती क्षेत्रमा भएका ज्यादती रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको धारचुला प्रशासनलाई पत्र पठाएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी (डिस्ट्रिक मजिस्ट्रे) आनन्द स्वरूपलाई नेपालको भू-भागमा असर पुग्ने गरी भएका गतिविधि रोक्न आग्रह गरेका हुन् । प्रजिअ जोशीले त्यसको जानकारी गृह मन्त्रालयमा पनि गराइएको बताए । पत्रमा भारतीयका कारण नदीको बहाव नेपालतर्फ धकेलिनुका साथै बाटोमै नदी पसेकाले त्यसलाई खुलाउन भारतीय पक्षलाई आग्रहसमेत गरिएको छ । यद्यपि भारतले यसको जवाफ पठाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *