युरोकप २०२०

आत्मविश्वास जगाउँदै, खेलको खुशी फैलाउँदै

काठमाडौं । सन् २०२० मै हुनुपर्ने युरोकप फुटबल एक वर्षपछि सर्‍यो । २०२१ मा हुने भएपनि नाममा सन् २०२० कै नाम लिएर नयाँ कार्यतालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आज (शुक्रबार) मध्यराति हुँदैछ ।

नेपाली समयअनुसार राति १२:४५ बजे शुरु हुने उद्घाटन खेलमा रोमस्थित ओलम्पिक स्टेडियममा इटाली र टर्की खेल्दैछन् ।

युरोपेली फुटबल महासंघ यूइएफएले दर्शक प्रवेशलाई अनिवार्य गरेपछि डब्लिन र बिल्बाओले दर्शक राख्न आनाकानी गर्दा त्यहाँ हुने तय भएका खेल लन्डन र सेन्ट पिटर्सबर्गमा सारिएको छ ।

प्रतियोगिताको इतिहासमै पहिलोपल्ट युरोपका ११ सहरमा प्रतियोगिता हुँदैछ। यसअघि बढीमा दुई देशले आयोजना गर्ने प्रतियोगिताले ६० वर्ष पुरा गरेको उपलक्ष्यमा यो पटक ११ फरक शहरमा प्रतियोगिता हुँदै छ ।

शुक्रबार रोमको ओलम्पिक स्टेडियममा १६ हजार दर्शक माझ इटाली र टर्की भिड्दा विश्व फुटबलले नयाँ आत्मविश्वास पाउने छ । किनकी कोरोना महामारीपछि ठुलो प्रतियोगितामा पहिलोपटक मैदानमा दर्शक देखिन लागेका हुन् ।

पछिल्ला केही ठूला प्रतियोगितामा इटाली र नेदरल्यान्ड्स छनोटसमेत हुन नसकेकाले यो पटक उनिहरुको उपस्थितिले स्वभाविक रुपमा प्रतियोगितामा फरक पार्नेछ ।

कोरोना संक्रमणको महामारीबाट मुक्त हुने तरखरमा रहेको युरोपमा अहिले संक्रमितको संख्या घट्दै छ । खोप लगाउनेहरु बढिरहेका छन् । तर सावधानीका रूपमा युरोपेली फुटबल महासंघले एउटा टिमलाई २६ खेलाडी राख्न पाउने छुट दिएको छ । स्पेनी फुटबल संघले त अझ घोषित टिमबाहिर पनि १७ खेलाडीलाई समानान्तर तयारीमा राखेको छ ।

युरोपेली फुटबल महासंघका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले कोरोना महामारीपछि युरो सफल आयोजना हुने पहिलो ठूलो प्रतियोगिता हुने विश्वास गरेका छन् । ‘महामारीबीच पनि युरोप सुरक्षित छ भनेर देखाउने यो राम्रो अवसर हो। युरोप अगाडि बढिरहेको छ यहाँ जीवन चलायमान छ  र युरोपले उत्कृष्ट पुनरागमन गर्नेछ’ उनले भनेका छन् ।

खेल युरोपका देशहरुको मात्र भएपनि कोरोना महामारीले आक्रान्त बनाएको विश्वभरि नै यो प्रतियोगिताले खेलको खुशी सञ्चार गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *