आत्मविश्वासी इटालीलाई अन्डरडग टर्कीको चुनौती

काठमाडौं । च्याम्पियन बन्ने लक्ष्यसहित युरो कपमा सहभागिता जनाउन लागेको इटालीले उद्घाटन खेलमा टर्कीको सामना गर्दैछ ।

उद्घाटन खेलमा रोमको ओलम्पिक रंगशालामा इटाली र टर्की आमने सामने हुँदा स्वभाविक रुपमा इटाली घरेलु मैदानमा आत्माविश्वासी हुनेछ । रोबर्टो मान्चिनीको टिम इटालीले पछिल्ला सबै आठ खेल जितेकाले र कुनै गोल नखाएकाले सर्वाधिक दाबेदारीमा अघि रहेको मानिएको छ ।

समग्रमा इटाली २०१८ यता अपराजित छ । टर्की भने प्रतियोगिताको अन्डरडग बन्ने लक्ष्यमा छ । टर्कीको टोलीमा फ्रेन्च लिग जितेको लिलेका स्ट्राइकर बुराक यिल्माज, मिडफिल्डर युसुफ याजिकी र रक्षक जेकी सेलिक रहेका छन् ।

बुराक टर्कीका दोस्रो सर्वाधिक गोल स्कोरर हुन् । उनले २९ गोल गरिसकेका छन् । उनीभन्दा अगाडि सन्यास लिइसकेका हाकान सुकरले टर्कीका लागि ५१ गोल गरेका छन् । त्यसैले इटालिलाई त्यति सहज भने हुने छैन ।

इटालीका लागि युरोपियन गोल्डेन बुट विजेता सिरो इमोबाइल आजको खेलमा प्रभावशाली देखिन सक्छन् । उनले सिरी ए मा २०१९-२० को सिजनमा कीर्तिमानी ३६ गोल गरेका छन् । इटालीले सन् १९९० को विश्वकपपछि पहिलो ठूलो प्रतियोगिता आयोजना गरिरहेको छ ।

याे समूहका अन्य दुई टोली वेल्स र स्विट्जरल्यान्ड शनिबार बाकुमा प्रतिस्पर्धा गर्नेछन् । ११ देशका शहरमा हुने ५१ खेलमा दर्शकको उपस्थिति उत्साहप्रद रहने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *