गण्डकी प्रदेश : वैकल्पिक सरकार गठनका लागि आह्वान

काठमाडौं । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रमुख पौडेलले वैकल्पिक सरकार गठनको लागि आह्वान गरेकी हुन् । संसद् सचिवालयको पत्र प्राप्त भएलगत्तै प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ (५) अनुसारको सरकार गठनका लागि २४ सयम दिएर आह्वान गरेकी हुन् । जसअनुसार भोलि दिउँसो ३ बजेसम्म वैकल्पिक सरकारको दाबी गर्न सकिने छ ।

यसअघि बिहीबार (हिजो) मुख्यमन्त्री गुरुङले सदनबाट विश्वासको मत लिने प्रस्ताव राखेका थिए । जहाँ, उनले २७ मत मात्रै प्राप्त गरे । त्योसँगै गुरुङ पदमुक्त भएका थिए । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ ।

यता नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा यसअघि नै प्रस्ताव गरिसकेका छन् । बिहीबारको प्रदेश सभाको बैठकबाट बाहिरिँदै नेता पोखरेलले भनेका छन्— ‘बहुमत पुर्याएर सरकारको दाबी गर्छौँ ।’ सोअनुसारकै तयारी गरिरहेका विपक्षी गठबन्धनमा रहेका दलका नेताहरुले बताएका छन् ।

बिहीबार सदनमा देखिएको संसदीय गणितलाई मान्ने हो भने स्वतन्त्र सांसद दीपक मनाङ्गले साथ दिँदा विपक्षी गठबन्धनबाट सरकार बन्ने पक्का छ । विपक्षी गठबन्धन बहुमत पर्याएर सरकारको दाबी गर्ने मूडमा रहँदा सरकारी पक्ष भने कागजी समस्या खडा गरेर संसद् नै विघटन गर्ने पक्षमा छ ।

पहिलो पटक ०७४ फागुन ४ मा मुख्यमन्त्री बनेका गुरुङ पुनः गत वैशाख २९ गते प्रदेशको ठूलो दलका नेताका रुपमा पुनः मुख्यमन्त्री बनका थिए । विपक्षी गठबन्धनले प्रदेश सभा सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्तावलाई छल्न केही घण्टाका लागि राजीनामा दिएका गुरुङ एक महिनापछि विश्वासको मत लिन नसकेर पदमुक्त भएका हुने ।

प्रदेशमा तीन सिट रहेको जनमोर्चा भने सरकारमा जाने छैन । यसअघि नै केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले जनमोर्चा गण्डकी प्रदेश सरकारमा नजाने बताइसकेका छन् । अब यसपछि भोलि तीन बजेसम्ममा कुनै पनि दलले वैकल्पिक सरकारको दाबी नगरे मध्यावधि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *