युरोकप आजबाट

काठमाडै । विश्वकपपछिको दोस्रो ठुलो फुटबल कुम्भमेला यूरोकप शुक्रबार मध्यरातिबाट सुरु हुँदैछ । १ महिनासम्म चल्ने युरोकपको १६ औं संस्करण युरोपका ११ देशका ११ शहरमा हुनेछ । सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म हुनुपर्ने भए पनि कोरोनाका कारण बल्ल शुरु हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन खेल शुक्रबार राती इटालीको रोममा हुनेछ जसमा घरेलु टोलीले टर्कीसँग खेल्नेछ । खेल नेपाली समयअनुसार मध्यराति १२:४५ मा शुरु हुनेछ ।

कोरोना महामारीका कारण खेलमा थोरै दर्शकलाई मात्र प्रवेश दिइने यूईएफएले जनाएको छ । यसपटक २४ देशले भाग लिने प्रतियोगितामा १९ टिम अघिल्लो संस्करण खेलकै र पाँच देश नयाँ छन् ।

युरोकपमा यसपटकबाट भिडिओ एसिस्टेन्ट रेफ्री (भिएआर) प्रयोग हुँदैछ ।

कोरोना महामारीका कारण हरेक खेलमा प्लेइङ ११ बाहेक १२ जना वैकल्पिक खेलाडी गरी एक टिमको २३ खेलाडी राख्न पाइनेछ । यस्तै नियमित समयमा तीन पटकमा गरी ५ खेलाडी परिवर्तन गर्न पाइनेछ ।

खेल अतिरिक्त समयमा गए पनि थप एक खेलाडी परिवर्तन गर्न पाइनेछ ।

प्रतियोगिताको विजेताले १ करोड युरो पुरस्कार पाउनेछ । उपविजेतालाई ७० लाख र सेमिफाइनल पुग्ने देशलाई ५० लाख यूरो प्रदान गरिनेछ ।

यस्तै क्वार्टरफाइनल पुग्ने देशले ३२ लाख ६० हजार युरो र अन्तिम १६ मा पुग्ने देशले २० लाख युरो पाउनेछन् ।

समूह चरणमा जित्नेले १५ लाख प्राप्त गर्नेछन् । खेल बराबरीमा दुवै टिमले बराबरी बाँड्नेछन् । यस्तै यूरोकपमा छनोट हुने टिमले ९२ लाख ५० हजार युरो पाउनेछन् ।

कुन देश कुन समूहमा

समूह ए : टर्की, इटाली, वेल्स, स्विट्जरल्यान्ड
समूह बी : डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रसिया
समूह सी : नेदरल्याण्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी : इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक गणतन्त्र
समूह ई : स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया
समूह एफ : हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *